काठमाडौं उपत्यकाका तीन जिल्ला कार्यक्षेत्र, काठमाडौं अदालतका न्यायाधीश रामप्रसाद शर्मा अध्यक्ष नियुक्त
काठमाडौँ — सरकारले ऐन जारी भएको ६ वर्षपछि काठमाडौं उपत्यकाका तीन जिल्ला कार्यक्षेत्र रहने गरी उपभोक्ता अदालत गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उपभोक्ता अदालत गठनको निर्णय गरेको हो ।
अदालतले कालोबजारी र महँगीसम्बन्धी मुद्दाको निरूपण गर्नेछ । उपभोक्तालाई कानुनबमोजिम क्षतिपूर्ति भराउने अधिकार पनि अदालतसँग छ । बिक्रेताले उपभोक्तालाई झुक्याएर न्यून गुणस्तरको वस्तु बिक्री गरेमा, मूल्यमा मनोमानी गरेमा र कुनै वस्तुको उपभोगका कारण स्वास्थ्यमा प्रतिकूल असर परेमा त्यससम्बन्धी मुद्दा यो अदालतले हेर्नेछ ।
त्यस्ता बिक्रेताबाट क्षतिपूर्ति भराउने व्यवस्था उपभोक्ता संरक्षण ऐन २०७५ मा छ । ऐनअनुसार हानि–नोक्सानी पुगेको मितिले ६ महिनाभित्र उजुरी गर्नुपर्नेछ । उपभोक्ता अदालत गठन गर्ने कानुनी व्यवस्थासहित २०७५ असोज २ मा उपभोक्ता संरक्षण ऐन जारी भएको थियो । त्यसको ६ वर्ष ३ महिना बितेपछि उपभोक्ता अदालत गठन गरिएको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले ऐनको व्यवस्था र सर्वोच्च अदालतले दिएका पटक–पटकका आदेश कार्यान्वयन गर्दै उपभोक्ता अदालत गठन गरिएको जानकारी दिए ।
न्याय परिषद्को सिफारिसमा मन्त्रिपरिषद् बैठकले काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई उपभोक्ता अदालतको अध्यक्ष नियुक्त गरेको छ । न्यायाधीश शर्मालाई न्याय परिषद्सँगको परामर्शमा अध्यक्ष तोकिएको हो । न्याय सेवा आयोगले उपसचिव गेहेन्द्रराज रेग्मी र उद्योग मन्त्रालयले उपसचिव आनन्दराज पोखरेललाई अदालतको सदस्य तोकेका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले काठमाडौं उपत्यकाका तीन जिल्लाका उपभोक्ताका गुनासो सुन्न उपभोक्ता अदालत गठन गरिएको बताए । ‘उपभोग्य वस्तुमा समस्याबारे कुरा आएको थियो । त्यसैलाई मध्यनजर गर्दै कानुन र अदालतको आदेश कार्यान्वयन गर्न उपभोक्ता अदालत गठन गरिएको हो,’ उनले भने, ‘अदालतले काठमाडौं उपत्यकाका उपभोक्ताबाट आएको उजुरी हेर्नेछ ।’
सर्वोच्च अदालतले २०७८ मा सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न आदेश दिएको थियो । तर, सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लालाई कार्यक्षेत्र तोकेर अदालत गठन गरेको हो । उपभोक्ता संरक्षण ऐनको दफा ४१ मा उपभोक्ता अदालतसम्बन्धी व्यवस्था छ । जसमा सरकारले तोकेको सम्बन्धित जिल्लाको जिल्ला न्यायाधीशको अध्यक्षतामा न्याय सेवाको उपसचिव र सरकारले तोकेको उपसचिव सदस्य रहने व्यवस्था उल्लेख छ ।
अदालतमा कम्तीमा एक जना सदस्य उपस्थित रहेको इजलासले मुद्दाको थुनछेकबाहेकको अन्य कारबाही र दुई जना सदस्य उपस्थित भएको इजलासले थुनछेकलगायत अन्य जुनसुकै कारबाही गर्न सक्ने व्यवस्था गरिएको छ । संविधानमा गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने मौलिक हकको व्यवस्था छ । उपभोक्ता अदालत नबन्दा नागरिकले उक्त मौलिक हक उपभोग गर्न पाएका थिएनन् ।
