किसानलाई उखु कटान आदेश पाउन गाह्रो

माघ २३, २०८१

लक्ष्मी साह

Farmers find it difficult to get an order to cut sugarcane

बारा — बाराका रिलायन्स चिनी मिलले उखु कटान आदेश दिन नसक्दा किसान चिन्तामा परेका छन् । अहिले हिउँदको बेलामा उखु खेतमा पानी सुक्दा मुसाले नोक्सानी गर्नेसँगै घामले सुकेर तौलमा कमी हुन सक्ने भयले किसानलाई मिलसम्म उखु पुर्‍याउन हतारो छ । तर मिलले किसानलाई चाहे जति कटान आदेश (चलान पुर्जी) नदिएपछि किसानको उखु खेतमै थन्किएको छ ।

बारा र पर्साका करिब सात हजार किसानले झन्डै ४ हजार विघामा लगाएको उखु आधासमेत कटान हुन सकेको छैन । तर मिल प्रशासनले किसान उखु सफा गरी नल्याउने र कटान आदेश बिनै जबर्जस्ती मिलमा ल्याउन थालेपछि कटान आदेश दिन समस्या भइरहेको जनाएको छ ।

‘अहिले एकातिर नयाँ उखु लगाउने सिजन भएकोले किसानले छिटो खेत खाली गर्न खोजेका छन् । अर्कोतिर कटान आदेश पर्याप्त नहुनु, घाम र मुसाले खेतको उखु नोक्सान गर्ने भएकाले तौलमा कमी आउन सक्ने किसानलाई भय छ,’ कलैया उपमहानगरपालिका-१६ विद्यानगर गाउँका ५५ वर्षीय इन्द्रदेव कुसवाहाले भने, ‘मिलले गढीमाई मेलाका कारण दुई साता ढिला क्रसिङ सुरु गरेकाले समस्या भएको छ ।’

मिलको दैनिक क्रसिङ क्षमता ३० हजार क्विन्टल हो । क्रसिङ गर्न मंसिर २ गते विधिवत सुरु गरे पनि गढीमाई मेलाको कारणले त्यसको दुई सातापछि मात्र कटान आदेश दिई क्रसिङ सुरु गरिएको थियो । तीन महिनाको अवधिमा करिब सात हजार किसानको ३० लाख क्विन्टल उखु लिने मिलको लक्ष्य हो ।

अहिलेसम्म १७ लाख क्विन्टल उखु लिएर मिलले क्रसिङ गरिसकेको मिलका ‘क्यान’ म्यानेजर अवध झाले भने, ‘किसानले मिलको नियम नमान्दा कटान आदेशमा समस्या भइरहेको छ । समस्या उसैलाई भइरहेको छ, जो मनलाग्दी बिना कटान आदेश उखु ल्याएर मिलमा कोचिरहेका छन् ।’

किसानले जबर्जस्ती अर्काकै पालोमा ट्याक्टर, गाडालगायतमा आफ्ना उखु ल्याएर ‘यार्ड’ (तौल हुने स्थल) मा कोच्न थालेपछि कटान पालो पर्खेर बसेका किसानलाई कटान आदेश (चलान पुर्जी) दिन समस्या भएको झाले बताए । कतिपय किसानले व्यक्तिगत पहुँचको आधारमा कटान आदेश नपाउँदै खेतको उखु सोझै मिलसम्म पुर्याइरहेका छन्, जसले कटान आदेश पाउने आशमा बसेका किसान मिलमा उखु पुर्याउन पाइरहेका छैन् । ‘यो समस्याले मिल प्रशासनसमेत हैरान छ,’ झाले भने ।

यो सिजनको उखु क्रसिङ हुने समयावधि आधा बितिसकेको छ । आधा समय बाँकी रहँदा सरकारले किसानलाई दिनुपर्ने अनुदान रकमको निश्चित गरिसकेको छैन् । गत वर्ष प्रति क्वीन्टल ७० रुपयाँको दरले अनुदान निर्धारण गरेको थियो । सरकारले गत वर्षको मुल्यमा प्रति क्वीन्टल २० रुपैयाँ वृद्धि गरी यस वर्ष क्वीन्टलको ५ सय ८५ रुपैयाँ समर्थन मुल्य तोकेको छ । तर अनुदान भने तोकेको छैन् । गत वर्ष प्रति क्वीन्टल ५ सय ६५ रुपैयाँ थियो ।

कलैया उपमहानगर २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इण्डिष्ट्रीजलाई उखु दिने गरी बारा र पर्सामा यसपाली झण्डै ४ हजार विघामा सात हजार हाराहारी किसानले उखु खेती गरेका छन् । उखुको बीउँ, अनुदान, मल अभाव, महँगीले थुप्रै उखु किसान खेती कम गरिरहेका छन् । उन्नत बिउँको अहिले पनि अभाव रहेको सिम्रौनगढ नगरपालिका ११ भगवानपुरका किसान विश्वनाथ यादवले बताए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully