पोखेडाँडामा धमाधम होमस्टे निर्माण

धार्मिक पर्यटकीय स्थल सुपादेउराली र नर्तनाञ्जल पर्वतको नरपानीमा आउने पर्यटकलाई लक्षित गरी गाउँमा होमस्टे निर्माणको लहर 

माघ २३, २०८१

वीरेन्द्र केसी

Construction of a homestay in Pokhedanda

अर्घाखाँची — परम्परागत माटोका घरको सामान्य स्वरूप परिवर्तन गरी सन्धिखर्क नगरपालिका–६ नरपानीस्थित पोखेडाँडाका बासिन्दाले धमाधम घरबास (होमस्टे) निर्माण गरिरहेका छन् । उनीहरूले कच्ची घरमा पाहुना राख्ने कोठा, सुधारिएको ओछ्यान, अलग्गै भान्सालगायतका पूर्वाधार निर्माण गरिरहेका छन् ।

अहिलेसम्म ७ घरबासमा पहुना बस्न योग्य बनाइएको छ । जसमा ४० जना बस्न मिल्छ । कोठाभित्र सफा चिटिक्क बेड, भुइँमा गुन्द्री चकटी बिछ्याइएको छ । सिंगल बेड रुम र परिवार बस्न मिल्ले खालका छन् । गाउँले संगठित भएर सामुदायिक होमस्टे निर्माणमा जुटेका हुन् । 

धार्मिक पर्यटकीय स्थल सुपादेउराली र नर्तनाञ्जल पर्वतको नरपानीमा आउने पर्यटकलाई लक्षित गरी गाउँमा होमस्टे निर्माणको लहर चलेको हो । नरपानीदेखि दुई किमि पोखेडाँडा गाउँबाट नर्तनाञ्चल पर्वतसहित चारैतिर डाँडाकाँडा र हिमशृंखला देख्न सकिन्छ ।

‘मैले दुईवटा कोठालाई पाहुना बस्ने बनाएको छु,’ सुपादेउराली पोखेडाँडा सामुदायिक होमस्टे समितिका अध्यक्ष भुवनसिंह दर्लामीले भने, ‘१२ वर्ष मलेसिया बसें । घरमै होमस्टे बनाएपछि यहीं पर्यटन उद्यम गर्ने मन लाग्यो अनि विदेश नजाने सोच बनाएँ ।’ 

बुटवल, दाङ, सन्धिखर्कबाट कर्मचारी, विभिन्न क्षेत्रमा काम गर्नेले सम्पर्क गरेर आउन थालेको उनले बताए । उनले फार्ममा लोकल कुखुरा पनि हुर्काइरहेका छन् । तरकारी, खाद्यवस्तु, फलफूल उत्पादन गर्ने तयारीमा छन् । गाउँमा खसीबोका, लोकल कुखुरालगायत रैथाने जातका खाद्यबाली उत्पादन गर्नेबारे छलफल भइरहेको उनले बताए ।

‘पाहुनालाई गुन्द्रीमा बसालेर लोकल कुखुरा र खसीको झोलसहित रैथाने खानाका परिकार खुवाउने गरी यहाँ उत्पादन हुने बाली र फलफूलको अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘हामी बृहत् योजनामा छौं, पर्यटन प्रवर्द्धनबाटै घरैपिच्छेका सबै परिवारलाई स्वरोजगार बनाउने गरी काम अगाडि बढेको छ ।’

उनीहरूले खानाका परिकार बनाउने तालिम सिकिसकेका छन् । तत्कालै होमस्टेमा बस्ने पाहुनाले सिस्नेको सुप, च्याँख्लाको खीर, सागको पकौडा, मकैको बिस्कुट, फर्सीको बल, केराउको बटुक, लोकल कुखुराको भुटन र झोललगायतका खानाका परिकार खान पाउँछन् । त्यस्तै स्याउको कक्टेल, कोदोको सेलरोटी, फापरको केक खान पाइन्छ । पोखेडाँडामा मगर बस्तीको बाहुल्य छ । बास बस्ने पाहुनालाई मगर समुदायको कला संस्कृति, नाचगान देखाउने गरी कलाकार पनि तयार गरिएको होमस्टे समिति सचिव मनिराम आचार्यले बताए ।

‘अहिले ७ वटा होमस्टेमा पाहुना बस्न मिल्ने गरी निर्माण भएका छन्,’ उनले भने, ‘बनाउने क्रम बढ्दो छ । पोखेडाँडा पूरै गाउँलाई होमस्टे गाउँ बनाउँदै छौं, यहाँ उत्पादन हुने रैथाने बाली लगाउन बाँझो रहेका बारीलाई कोरेर खेती गर्न थालेका छौं ।’ लोकल भैंसीको दूध, मही, दही, ध्यू, कुराउनी खीरजस्ता परिकारका लागि गोठमा सधैं दुहुना भैंसी पाल्ने योजना रहेको उनले सुनाए ।

सुपा देउरालीमा दैनिक सयौंको संख्यामा तीर्थालु आउँछन् । केही नरपानीमा प्रसादग्रहण गर्छन्, भुल्छन् । पछिल्लो समय नरपानीमा भारतीय पर्यटकको संख्या वृद्धि भइरहेको छ । उनीहरूलाई बसाल्न गाउँमा होमस्टे निर्माण गरिएको उनले बताए । साँघुरा घरमा तला थप्ने, वरिपरि कोठा निकाल्ने काम भइरहेको छ । ग्रामीण पर्यटनको स्वाद चखाउने उद्देश्य र लक्ष्यअनुसार धमाधम होमस्टे निर्माण गर्न स्थानीय सक्रिय छन् । 

सुपादेउरालीमा दर्शन र नरपानीसहित गाउँमा घुम्न आएका पाहुनालाई आफ्नो घरमा राखेर जे पाक्छ, त्यही खुवाएर आतिथ्य दिने र सुत्ने बस्ने व्यवस्था गर्ने र थोरै शुल्क लिने होमस्टेको अवधारणा हो ।

‘पोखेडाँडा रमणीय गाउँ छ, नरपानी र सुपादेउराली पर्यटकीय हब नै बनेको छ,’ सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले भने, ‘त्यहाँ आएका पाहुनालाई सहज र सस्तोमा खानेबस्ने सुविधाका लागि स्थानीयलाई होमस्टे निर्माण गर्न लगाएका हौं । गाउँलेलाई होमस्टे निर्माण, सञ्चालन, पाहुनालाई गर्ने सत्कार र सेवाका बारेमा प्रशिक्षण गरिसकेका छौं ।’ 

पोखेडाँडामा होमस्टे सञ्चालनले गाउँमा घरैपिच्छेका परिवारले रोजगारीको अवसर सिर्जना हुने, कृषि उत्पादनमा वृद्धि हुने र बसाइँसराइ रोक्ने, बाँझो जमिनमा सदुपयोग गराउने लक्ष्य रहेको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

‘घरघरमा पहुना, सांस्कृतिक मनोरञ्जनसहित खानाका परिकार उत्पादन गर्ने कृषि, पशुपालनका फामैफमै खुलाउने गरी कार्यक्रम अघि सारेका छौं,’ उनले भने, ‘पर्यटनबाट गाउँलाई आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्य छ । यसबाट पोखेडाँडासहित आसपासका गाउँलाई कृषि, पर्यटन व्यवसायमा जोड्छ र रोजगारीका अवसर सिर्जना हुन्छन् ।’ सुपादेउराली र नरपानी घुम्न आएका पर्यटकमध्ये १० प्रतिशत मात्रै पर्यटकलाई होमस्टेमा बास बसाल्न सकेमा गाउँमा आर्थिक अवस्था फेरिने उनको दाबी छ । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully