अर्गानिक वस्तुको व्यापारमा जमिरहेका अर्जुन

पहिले रैथाने कृषि उत्पादन किन्न गाउँ जानुपरे पनि अहिले अर्जुनलाई पसलमै पुर्‍याउन किसान आइपुग्छन्

माघ २०, २०८१

डीबी बुढा

Arjun, who is involved in the business of organic products

जुम्ला — तिला गाउँपालिका–१ का अर्जुन बुढा सात वर्षपहिले घरको तीन लाख रुपैयाँले अर्गानिक उत्पादनको खरिदबिक्री सुरु गर्दा अन्योलमा थिए । बाहिरबाट आउने खाद्यान्नले अर्गानिक कृषि वस्तुको व्यवसायमा असर पुर्‍याउनेदेखि किसानले समेत रैथानेबाली लगाउन छडिरहेको अवस्थाले उनलाई पिरोलिरहेको थियो ।

उनले सुरुमै एक डेढ क्विन्टल घरकै उत्पादन ल्याएर पसलमा सजाउन थाले । जब उनको पसलमा ग्राहक आउन थाले, उनले अर्गानिक वस्तुमा लगानी गर्नुपर्ने निष्कर्ष निकाले । 

बुढाले गाउँगाउँ पुगेर किसानले फलाएका हरेक वस्तुको खरिद सुरु गरे । उनको अर्गानिक कृषिवस्तुप्रतिको लगाव देखेर किसानसमेत लोभिए । तपाईंहरू अर्गानिक कृषि सुरु गर्नुस्, उत्पादन बजारसम्म पुर्‍याउने जिम्मेवारी म लिन्छु भन्दा किसान छक्क पर्ने गरेको अनुभव अर्जुनले सुनाए ।

पहिले रैथाने कृषि उत्पादन खरिद गर्न गाउँ जानुपरे पनि अहिले अर्जुनलाई पसलमै पुर्‍याउन किसान आइपुग्छन् । किसानले फोन गरेर कृषि वस्तुको मूल्य बुझ्नेदेखि ल्याउने–नल्याउने यकिन गर्छन् । ‘पहिले एक गाउँसँग मात्र परिचित थिए । अहिले सबै किसानको सम्पर्कमा छु,’ अर्जुनले भने । गाउँदेखि कृषि उपज संकलन गरेर सदरमुकाम खलंगामा पुर्‍याएर बेच्नु उनको दैनिकी हो । २०७७ सालदेखि अर्गानिक वस्तु बेचिरहेका अर्जुन अहिले अर्गानिक व्यापारीका नामले परिचित छन् ।

बाहिरबाट आउने खाद्यवस्तुका कारण किसानले रैथानेबाली लगाउन छाडिरहेका छन् । तर अर्जुनले किसानले उत्पादन गरेका वस्तु खरिद गरेर लिन थालेपछि अहिले परम्परागत बालीमा लगाव बढेको छ ।

‘बाहिरबाट आउने खाद्यान्नले किसानलाई सहज बनाइदिएको छ । तर पनि रैथानेबालीको संरक्षण रोकिएको छैन,’ उनले भने । रारालिही अर्गानिक पसल खोलका अर्जुनले मार्सीचामल, सिमी, भटमास, चिनो, कागुनो, जडिबुटी चिया, सिस्नो, टिमुर, मकै, स्याउको सुकुटी, मह, जौ, गहुँ, कोदो र फापरको पिठो सँगै दाल र ओखर बेचिरहेका छन् । लोप भएको कालो चामलसमेत उनले सुपथ मूल्यमा बेचिरहेका छन् । 

पातारासी, तातोपानी र तिलाका किसानले उत्पादन गरेको अर्गानिक वस्तु आफूले किनिरहेको उनले जनाए । जिम्बु उनी मुगुबाट ल्याइरहेका छन् । जुम्लाको अर्गानिक उत्पादन काठमाडौंका व्यापारीसम्म उनलै पुर्‍याउँछन् । बर्सेनि २० लाख रुपैयाँसम्मको सामान थोक मूल्यमै काठमाडौं पुर्‍याइरहेको अर्जुनले बताए । गत वर्ष मात्रै १४ लाख ११ हजार रुपैयाँ बराबरको मार्सी बेचेको उनको भनाइ छ । अहिले उनको पसलको वार्षिक कारोबार एक करोडसम्म पुगेको छ ।

सुरुमा घरको उत्पादन र गाउँदेखि उठाएको तीन लाख रुपैयाँले सुरु गरेको अर्गानिक व्यवसाय अहिले करोडमा पुगेको छ । २०५९ सालमा तत्कालीन माओवादी सशस्त्र युद्धमा भूमिगत भएका अर्जुन शान्ति प्रक्रियापछि स्वैच्छिक अवकाशमा निस्किएका थिए । माओवादी सेना प्रमाणीकरणमा परेका उनले पाँच लाख रुपैयाँ पाएका थिए । उनकी पत्नी मेनका पनि माओवादी सेनामा भएकाले १० लाख रुपैयाँ लिएर घर फर्किएका थिए ।

अहिले अर्जुनको व्यवसायलाई मेनकाले साथ दिइरहेकी छिन् । साथीहरूले अवकाशस्वरूप पाएको रकम जग्गामा लगानी गरे । उनले अर्गानिक वस्तुको व्यापारमा लागे । ‘जग्गा किनेका साथीहरू अहिले कोही विदेशमा छन् । कोही ज्यालादारीमा गुजारा चलाइरहेका छन् । म अर्गानिक वस्तु बेचेर किसानको हौसला बढाउने काम गरिरहेको छु,’ उनले भने । 

स्थानीय उत्पादनको प्रचारप्रसार भइरहेकाले यो व्यवसाय निकै मर्यादित देखिएको अर्जुनले बताए । ‘अर्गानिक वस्तु किन्न आउने ठूलाबडासँग भेट हुन्छ । नगद कारोबार हुने भएकाले फाइदाजनक छ,’ उनले भने । पहिले गाउँमै पुगेर खरिद गर्नुपर्ने बाध्यता भए पनि हाल पसलमै किसान बेच्न ल्याउने गरिरहेका छन् । व्यापारबाटै पाँच जनाको परिवारको खर्चर् धानेर २१ लाख रुपैयाँ बराबरको २३० वर्गमिटर जमिन किनेर ४० लाख रुपैयाँको घरसमेत जोडेका छन् । लेबलिङ, ग्रेडिङ र स्युचरिङ मेसिन पनि राखेका छन् । 

‘सुरुमा व्यवसाय गर्दा विश्वास नै लागेको थिएन,’ अर्जुनले भने, ‘अहिले करोडौंमा कारोबार हुन थालेको पत्तै भएन । युद्धबाट बचेर आएकाले मिहिनेत गर्छु भन्ने त लागेको थियो, यहाँसम्म पुगिन्छ भन्ने सोचेको पनि थिइनँ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully