पहिले रैथाने कृषि उत्पादन किन्न गाउँ जानुपरे पनि अहिले अर्जुनलाई पसलमै पुर्याउन किसान आइपुग्छन्
जुम्ला — तिला गाउँपालिका–१ का अर्जुन बुढा सात वर्षपहिले घरको तीन लाख रुपैयाँले अर्गानिक उत्पादनको खरिदबिक्री सुरु गर्दा अन्योलमा थिए । बाहिरबाट आउने खाद्यान्नले अर्गानिक कृषि वस्तुको व्यवसायमा असर पुर्याउनेदेखि किसानले समेत रैथानेबाली लगाउन छडिरहेको अवस्थाले उनलाई पिरोलिरहेको थियो ।
उनले सुरुमै एक डेढ क्विन्टल घरकै उत्पादन ल्याएर पसलमा सजाउन थाले । जब उनको पसलमा ग्राहक आउन थाले, उनले अर्गानिक वस्तुमा लगानी गर्नुपर्ने निष्कर्ष निकाले ।
बुढाले गाउँगाउँ पुगेर किसानले फलाएका हरेक वस्तुको खरिद सुरु गरे । उनको अर्गानिक कृषिवस्तुप्रतिको लगाव देखेर किसानसमेत लोभिए । तपाईंहरू अर्गानिक कृषि सुरु गर्नुस्, उत्पादन बजारसम्म पुर्याउने जिम्मेवारी म लिन्छु भन्दा किसान छक्क पर्ने गरेको अनुभव अर्जुनले सुनाए ।
पहिले रैथाने कृषि उत्पादन खरिद गर्न गाउँ जानुपरे पनि अहिले अर्जुनलाई पसलमै पुर्याउन किसान आइपुग्छन् । किसानले फोन गरेर कृषि वस्तुको मूल्य बुझ्नेदेखि ल्याउने–नल्याउने यकिन गर्छन् । ‘पहिले एक गाउँसँग मात्र परिचित थिए । अहिले सबै किसानको सम्पर्कमा छु,’ अर्जुनले भने । गाउँदेखि कृषि उपज संकलन गरेर सदरमुकाम खलंगामा पुर्याएर बेच्नु उनको दैनिकी हो । २०७७ सालदेखि अर्गानिक वस्तु बेचिरहेका अर्जुन अहिले अर्गानिक व्यापारीका नामले परिचित छन् ।
बाहिरबाट आउने खाद्यवस्तुका कारण किसानले रैथानेबाली लगाउन छाडिरहेका छन् । तर अर्जुनले किसानले उत्पादन गरेका वस्तु खरिद गरेर लिन थालेपछि अहिले परम्परागत बालीमा लगाव बढेको छ ।
‘बाहिरबाट आउने खाद्यान्नले किसानलाई सहज बनाइदिएको छ । तर पनि रैथानेबालीको संरक्षण रोकिएको छैन,’ उनले भने । रारालिही अर्गानिक पसल खोलका अर्जुनले मार्सीचामल, सिमी, भटमास, चिनो, कागुनो, जडिबुटी चिया, सिस्नो, टिमुर, मकै, स्याउको सुकुटी, मह, जौ, गहुँ, कोदो र फापरको पिठो सँगै दाल र ओखर बेचिरहेका छन् । लोप भएको कालो चामलसमेत उनले सुपथ मूल्यमा बेचिरहेका छन् ।
पातारासी, तातोपानी र तिलाका किसानले उत्पादन गरेको अर्गानिक वस्तु आफूले किनिरहेको उनले जनाए । जिम्बु उनी मुगुबाट ल्याइरहेका छन् । जुम्लाको अर्गानिक उत्पादन काठमाडौंका व्यापारीसम्म उनलै पुर्याउँछन् । बर्सेनि २० लाख रुपैयाँसम्मको सामान थोक मूल्यमै काठमाडौं पुर्याइरहेको अर्जुनले बताए । गत वर्ष मात्रै १४ लाख ११ हजार रुपैयाँ बराबरको मार्सी बेचेको उनको भनाइ छ । अहिले उनको पसलको वार्षिक कारोबार एक करोडसम्म पुगेको छ ।
सुरुमा घरको उत्पादन र गाउँदेखि उठाएको तीन लाख रुपैयाँले सुरु गरेको अर्गानिक व्यवसाय अहिले करोडमा पुगेको छ । २०५९ सालमा तत्कालीन माओवादी सशस्त्र युद्धमा भूमिगत भएका अर्जुन शान्ति प्रक्रियापछि स्वैच्छिक अवकाशमा निस्किएका थिए । माओवादी सेना प्रमाणीकरणमा परेका उनले पाँच लाख रुपैयाँ पाएका थिए । उनकी पत्नी मेनका पनि माओवादी सेनामा भएकाले १० लाख रुपैयाँ लिएर घर फर्किएका थिए ।
अहिले अर्जुनको व्यवसायलाई मेनकाले साथ दिइरहेकी छिन् । साथीहरूले अवकाशस्वरूप पाएको रकम जग्गामा लगानी गरे । उनले अर्गानिक वस्तुको व्यापारमा लागे । ‘जग्गा किनेका साथीहरू अहिले कोही विदेशमा छन् । कोही ज्यालादारीमा गुजारा चलाइरहेका छन् । म अर्गानिक वस्तु बेचेर किसानको हौसला बढाउने काम गरिरहेको छु,’ उनले भने ।
स्थानीय उत्पादनको प्रचारप्रसार भइरहेकाले यो व्यवसाय निकै मर्यादित देखिएको अर्जुनले बताए । ‘अर्गानिक वस्तु किन्न आउने ठूलाबडासँग भेट हुन्छ । नगद कारोबार हुने भएकाले फाइदाजनक छ,’ उनले भने । पहिले गाउँमै पुगेर खरिद गर्नुपर्ने बाध्यता भए पनि हाल पसलमै किसान बेच्न ल्याउने गरिरहेका छन् । व्यापारबाटै पाँच जनाको परिवारको खर्चर् धानेर २१ लाख रुपैयाँ बराबरको २३० वर्गमिटर जमिन किनेर ४० लाख रुपैयाँको घरसमेत जोडेका छन् । लेबलिङ, ग्रेडिङ र स्युचरिङ मेसिन पनि राखेका छन् ।
‘सुरुमा व्यवसाय गर्दा विश्वास नै लागेको थिएन,’ अर्जुनले भने, ‘अहिले करोडौंमा कारोबार हुन थालेको पत्तै भएन । युद्धबाट बचेर आएकाले मिहिनेत गर्छु भन्ने त लागेको थियो, यहाँसम्म पुगिन्छ भन्ने सोचेको पनि थिइनँ ।’
