६ अर्ब ५१ करोड लगानीको होटलमा ५ सय र ४ सय क्षमताका ब्यांक्वेट हल
काठमाडौँ — धेरैजसो तारे होटल काठमाडौं केन्द्रित छन् । यस्तो लाग्छ, पछिल्ला केही वर्षयता यस्ता होटल खोल्न प्रतिस्पर्धा नै छ । भक्तपुर र ललितपुरमा भने ठूला लगानीका होटल कमै निर्माण गरिएका छन् ।
ललितपुरको ग्वार्को चोकमा भने फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्रान्डका रूपमा रोयल टुलिप काठमाडौं होटल निर्माणको अन्तिम चरणमा छ । गुण ग्रुपको लगानीमा निर्माणाधीन होटललाई तीन चरणमा गरेर सञ्चालनमा ल्याउने तयारी छ ।
पहिलो चरणमा १ हजार ५ सय क्षमताको ब्यांक्वेट हल सञ्चालनमा ल्याइने होटलका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जनाए । होटल सन् २०२० बाट १६ रोपनी क्षेत्रफलमा निर्माण थालिएको हो । होटलमा ३ सय ८ वटा कोठा रहनेछन् । ‘पहिलो चरणमा जनवरी १ मा रोयल टुलिपसँग सञ्चालन व्यवस्थापन सम्झौता भयो, अहिले परीक्षणका रूपमा ब्यांक्वेट हल सञ्चालन गरेका छौं,’ उनले भने, ‘यसलाई छिट्टै औपचारिक रूपमा सञ्चालन गर्छौं, दोस्रो चरणमा १ सय ५० वटा रुम सञ्चालनमा ल्याउँछौं ।’
तेस्रो चरणमा होटल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ । पाँचतारे होटलको मापदण्डअनुसार यसको निर्माण गरिएको हो । प्रक्रिया पूरा गरी यसलाई पाँचतारे स्तरको वर्गीकरण लिइने होटल व्यवस्थापन पक्षले जनाएको छ । १३ तलाको होटलमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छ । ‘यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलोमिटरको दूरीमा छ,’ शाक्यले भने, ‘धेरै कोठा क्षमताको होटल र ब्यांक्वेट बनाएका छौं ।’
होटलको रुफटपमा दुई रेस्टुरेन्ट रहनेछन् । ६ अर्ब ५१ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको होटलमा ५ सय र ४ सय क्षमताका ब्यांक्वेट हल हुने जनाइएको छ । ४ सय क्षमताको भने भीआईपी ब्यांक्वेट हल हो । होटल पूर्ण रूपमा सञ्चालनमा आउँदासम्म ४ सयदेखि ५ सयसम्मलाई रोजगारी दिने लक्ष्य रहेको शाक्यले बताए । त्यस्तै होटलभित्र स्विमिङ पुल, स्पा, फिटनेस, स्टिम, साउना, जिम, क्यासिनो, डिस्को थेग रहनेछ । स्ट्यान्डर्ड, डिलक्स, प्रेसिडेन्सियल सुइट र सुइट रुम रहने उनको भनाइ छ ।
लबी, ब्यांक्वेट हल आदि स्थानमा धार्मिक तथा ऐतिहासिक महत्त्वका चित्र भित्तामा राखिएका छन्, जसले होटलमा आकर्षण थपेका छन् । ‘आगामी जुलाईसम्म पूर्ण रूपमा होटल सञ्चालन गर्ने तयारीमा छौं,’ शाक्यले भने ।
