प्रणय दिवसमा ४ लाख २५ हजार गुलाब खपत हुने अनुमान

काठमाडौं उपत्यकाभित्र २ लाख ५५ हजार स्टिक र उपत्यका बाहिर १ लाख ७० हजार खपत हुनेछ ।

माघ १९, २०८१

सीमा तामाङ

Estimated consumption of 425,000 roses on Valentine's Day

काठमाडौँ — यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे) मा ४ लाख २५ हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । फ्लोरीकल्चर एसोसिएसनका अनुसार काठमाडौं उपत्यकाभित्र २ लाख ५५ हजार स्टिक र उपत्यका बाहिर १ लाख ७० हजार खपत हुनेछ । फेब्रुअरी ७ मा राेज डे मनाउँदै सुरु हुने 'भ्यालेनटाइन विक' फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाउँदै सकिनेछ ।

पछिल्लो समय नेपालमा पनि मनाउँदै आएकाले गुलाबको खपत बढ्दै वर्सेनि बढ्दै गएको एसोसिएसनले जनाएको छ । यस वर्षको प्रणय दिवसमा गुलाबको माग आयातित ७५ प्रतिशत र २५ प्रतिशत आन्तरिक उत्पादनले धान्ने एसोसिएसनका महासचिव हिरामणी शर्माले बताए ।

यसअघिका प्रणय दिवसमा १० प्रतिशत मात्रै आन्तरिक गुलाब हुने गरेको शर्माको भनाइ छ । ‘यसपाली गुलाबको उत्पादन बढेको छ, मौसम पनि अनुकुल भयो, यसपालि २५ प्रतिशत गुलाबको माग आन्तरिक उत्पादनले धान्ने अनुमान छ,’ उनले भने । यस वर्ष गुलाबको मागसँगै मौसम अनुकुल हुँदा आन्तरिक उत्पादन बढेको एसोसिएसनले महासचिव हिरामणी शर्माले बताए ।

हरेक वर्ष गुलाबको माग १५ देखि २० प्रतिशत बढ्ने अनुमान रहेको एसोसिएसनले जनाएको छ । ‘प्रणय दिवसको साताभर ४ करोड ६७ लाख रुपैयाँको कारोबार हुने अनुमान छ,’ एसोसिएसनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । प्रति गुलाब ९० देखि १२० रुपैयाँमा कारोबार हुने एसोसियनको अनुमान छ । गत वर्षको प्रणय दिवसमा ४ लाख १२ हजार स्टिक गुलाबको फूल खपत भएको समेत एसोसिएसनले जनाएको छ ।

नेपालमा मौसम अनुकुल मात्रै गुलाब उत्पादन हुने गरेको छ । फेब्रुवरी महिनामा पर्ने प्रणय दिवसको अवसरमा नेपालमा चिसो मौसम हुने र त्यसकारण गुलाब फूलको उत्पादन कमि हुने भएकोले भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ । ‘माघ/फागुनमा नेपालमा जाडो हुन्छ, गुलाबका फूलहरू फक्रिदैनन्, त्यसैले आन्तरिक उत्पादन कम हुन्छ’ शर्माले भने, ‘यसपाली अन्य वर्षको तुलनामा घाम लागेको हुनाले आन्तरिक उत्पादन बढ्नेछ ।’

नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन १० हजार स्टिक गुलाब फूलको माग रहने समेत एसोसिएसनले जनाएको छ । ‘कोभिड महामारीका कारणले गर्दा ०७९ सम्म पुष्प उत्पादनमा ह्रास आएको थियो,’ विज्ञप्तीमा भनिएको छ, ‘आजभोली व्यवसायीहरूले लगानी गर्न थालेका छन् । त्यस कारण पनि आन्तरिक गुलाब फूलको उत्पादनमा बढेको छ ।’

काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक र रुपन्देहीमा व्यवसायिक गुलाब फूलको खेती हुने गरेको छ भने अन्य जिल्लाहरूमा पनि गुलाब फूलको व्यवसायिक खेती बिस्तार हुने क्रममा छ ।

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully