काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरुलाई सोही प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरिएको छ ।
पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो ।
मुग्लिङ–पोखरा सडक विस्तार आयोजनासँगको समन्यमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभरहेड) लाइन र पोलहरु हटाइएको छ । सुरुमा कुँडहर सबस्टेसनसम्मको वितरण प्रणालीमात्र भूमिगत गर्ने व्यवस्था भएता पनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुहरुले गुजुल्टिएको तारले कुरुप बनेको सहर देख्ननपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्धारसम्म विस्तार गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमश: विद्युत् आपूर्ति दिन र ओभरहेड संरचनाहरु हटाउन निर्देशन दिए ।
कार्यकारी निर्देशक घिसिङले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, एयरपोर्ट लगायतमा क्षेत्रमा भइरहेको कामको अनुगमन गरेका थिए । महानगरपालिका, सडक कार्यालयलगायतका निकायसँग समन्वय गरी लेकसाइडको बाँकी काम तत्काल सम्पन्न गरी भूमिगत प्रणालीमार्फत विद्युत आपूर्ति दिन प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख र आयोजनालाई कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए ।
पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराको मुख्य सहर तथा सडकहरुमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रहरुमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले बताए । लेकसाइडस्थित अधिकतम स्ट्रिट क्षेत्रमा काम सम्पन्न भएकाले अव त्यहाँ पनि छिट्टै भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति दिइने प्रमुख सुवेदीले बताए ।
