पाल्पा — रामपुर नगरपालिका–५ मटेरीका सुरज गौतमले १५ रोपनीमा उखु खेती गरेका छन् । सानो छँदा लेकबेंसीका बस्तीका बारीमा उखु खेती देखेका गौतमले केही वर्षयता मासिँदै गएको भेटाए । उखु खेती गर्दा धेरै दुःख गर्नु पर्दैन । तर पनि किन छाडे, उखु खेती भन्ने उनमा भयो । ‘मलाई उखु खेती किन गर्न छाडे भन्ने जिज्ञासा लाग्यो,’ उनले भने, ‘त्यसपछि अध्ययन गर्दै जाँदा आफैंलाई खेती गर्न मन लाग्यो ।’
छरछिमेकी, आफन्त, साथीभाइलाई पुनः उखु खेती सुरु गर्न गौतमले आग्रह गरे । कतिपय उखु खेती गर्न सहमत भए । ६ जना युवा मिलेर हाम्रो बहुउद्देश्यीय कृषक समूह गठन गरेर उखु खेतीलाई पुनः निरन्तरता दिन लागेको उनले बताए ।
रामपुर नगरपालिका–५ कै विष्णुप्रसाद गौतमलाई पनि उखु काट्ने, सफाइ गर्ने, मेसिनमा पेल्ने र खुदो पकाउन यति बेला भ्याइनभ्याइ छ । तीन सातायता गौतमको दैनिकी यही काममा बितेको छ । ‘पछिल्ला तीन साता उखु बारी र खुदो पकाउनमै दिन बितेको छ,’ उनले भने । पुस र माघ महिना उखु पेल्न र यसबाट खुदो बनाउनमै बित्ने उनले जनाए ।
उखु खेती गर्ने चलन हराउँदै गएपछि यसको माग पूर्ति गर्न युवाहरूले व्यक्तिगत र सामूहिक उखु खेती सुरु गरेका हुन् । २० वर्षअघिसम्म पाल्पाको रामपुर नगरपालिका उखु खेतीका लागि पकेट क्षेत्र जस्तै थियो । पुराना पुस्ताले उखु खेती छाड्दै गए, युवामा चासो देखिएन । त्यसपछि बिस्तारै लेकबेंसीका बस्तीमा उखुबारी मासिँदै गएको युवा कृषक गौतमले बताए । ‘किन उखु खेती मासियो भनेर अध्ययनसमेत गरेका छौं,’ उनले भने, ‘पुराना पुस्ता बसाइँसराइलगायत विभिन्न कारणले खेती गर्न छाडेका रहेछन् । नयाँ पुस्तामा गाउँमा बसेर दुःख गर्ने चाहना देखिएन ।’
साविकको खालीवन, रामपुर, गेझा, गाँडाकोटमा कम्तीमा २ हजार रोपनीभन्दा बढी क्षेत्रफलमा हुने उखु खेती हुन्थ्यो । तर अहिले पछिल्लो समयमा घटेर ५० रोपनीमा सीमित बनेको रामपुर नगरपालिका–९ लाम्दीखोलाका शम्भु अर्यालको भनाइ छ । जसले गर्दा रामपुर क्षेत्रमा मात्र दुई करोडभन्दा बढीको खुदो, भेली र गुड आयात हुन थालेको छ । पछिल्लो समय खुदो, भेली र गुडको माग देखेर पुनः यो खेतीलाई विस्तार गर्न कस्सिएको युवा कृषक सन्तोष पौडेलले जनाए । हाम्रो बहुउद्देश्यीय कृषक समूहमार्फत यस वर्ष ३५ रोपनीमा उखु लगाइएको छ । बिस्तारै यसलाई सय रोपनीमा पुर्याउने उनले बताए ।
लेकको बस्तीमा बसाइँसराइ र बेंसीमा काम गर्न दुःख मान्ने भएकाले रामपुर नगरपालिका क्षेत्रका धेरैजसो किसानले उखु खेती गर्न छाडेका हुन् । अहिले रामपुर नगरपालिकाको गेझा, जब्गादी, पिलुवा, लाम्दीखोला, रामपुर र गाँडाकोटमा केही किसानले मात्र उखु खेती गर्छन् । पहिला भने यो व्यावसायिक खेती थियो ।
यहाँ बनाइने खुदो र गुड स्याङ्जा, पोखरा, काठमाडौं, तनहुँ, बुटवल, भैरहवासम्म पुग्थ्यो । उखु खेती लोप हुन नदिन अझै पनि कतिपय किसान सक्रिय छन् । ‘अर्गानिक खुदो बिक्रीका लागि कुनै समस्या देखिएन,’ रामपुरकी किसान चम्पा गौतमले भनिन्, ‘खेती गर्न किन छाडेका थियौं, तर अब होला जस्तो लाग्न थालेको छ ।’
उखु खेतीलाई प्रवर्द्धनका लागि रामपुरमा कृषक समूह गठन भएका छन् । कतिपयले व्यक्तिगत रूपमा पनि थप उखु लगाउन थालेका छन् । सिद्धार्थ राजमार्गदेखि महेन्द्र राजमार्गसम्म जोडिने कालीगण्डकी करिडोर सडक सञ्चालन भएसँगै यातायातमा थप सहजता भएपछि पुनः उखु किसान हौसिएका छन् ।
