काठमाडौँ — सत्तारूढ दल कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले ‘नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन’ गरेको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार कांग्रेसले सम्मेलन गरेको हो ।
युवालाई उद्यमी बनाउन र उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यसाथ पहिलो पटक उक्त सम्मेलन आयोजना गरिएको कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले जनाइन् ।
‘अबको पुस्ता उद्यमशील र उद्यमी हुनुपर्छ । पहिलाका नेताको त्यागबाट आजको दिनमा आइपुग्यौं । हिजो व्यवस्था परिवर्तन गरिसकेपछि अब अवस्था परिवर्तन गर्नुपर्छ,’ उनले भनिन्, ‘आर्थिक रूपमा मजबुत भयो भयो भने अवस्था परिवर्तन हुन्छ । अब हरेक युवा उद्यमी बन्नुपर्छ र उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनको पहिलो दिन माघ १६ मा सात हजार जनाले अवलोकन गरेको थपलियाले बताइन् । उक्त सम्मेलन बिहीबार पनि हुनेछ । सम्मेलनमा ८५ वटा स्टल छन् । कांग्रेसले उक्त स्टल र सम्मेलन अवलोकन गर्न शुल्क नलिएको थपलियाले सुनाइन् ।
‘प्रदर्शनीमा नेपालमा उत्पादित, हातबाट बनेका अल्लोको कपडा, गाजाबाट बनेको सामान, सारंगी, मादल, अचार, मुस्ताङको मार्फा, सिन्धुलीको जुनारलगायत सामग्री छन्,’ थपलियाले भनिन् । सम्मेलनमा नवप्रवर्द्धन उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण, नेपालमा लगानी स्टार्टअप, एसमीहरूको भविष्य र कृषि उमशीलता ः अवसर र चुनौतीहरू भन्ने तीन फरक विषयमा अन्तरक्रियात्मक छलफलसमेत गरिएको थपलियाले जनाइन् । नेपालस्थित इजरायलका राजदूत सुमुलिक एरी बास र दक्षिण कोरियाली राजदूत पार्क ताई यङले पनि सम्मेलन अवलोकन गरे ।
