एआईले मानिसलाई निकम्मा बनाउन सक्दैन : प्रधानमन्त्री ओली

माघ १७, २०८१

कान्तिपुर संवाददाता

AI cannot make humans useless: Prime Minister Oli

काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विज्ञान र प्रविधिको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उचित उपयोग गर्नुपर्ने बताएका छन् । एआईले मानिसलाई निकम्मा बनाउँछ भन्नेमा सत्यता नरहेकामा पनि उनले जोड दिएका छन् ।

बिहीबार भृकुटी मण्डपमा आठौँ 'नेपाल चेम्बर एक्स्पो'को उद्घाटन सत्रमा बोल्दै ओलीले एआईको दुरुपयोगले समाजमा भ्रामक सूचना फैलाउने खतरा रहेको औँल्याए । ‘म नै छमछमी नाचेको भिडियो बनाउन सकिने रहेछ,’ उनले भने, ‘कुन सक्कली, कुन नक्कली छुट्याउन गाह्रो हुने गरी भिडियो बन्न सक्छन् ।’ तथापि, यसको सदुपयोगले काम सरल बनाउने उनले बताए । 

‘कतिपयको चिन्ता एआईले मानिसलाई निकम्मा बनाउँछ भन्ने छ,’ उनले भने, ‘यसको सम्पूर्ण कमान्ड मानिसकै हातमा हुन्छ, डिस्कनेक्ट गरिदिएपछि यसको तमासा सबै बन्द हुन्छ । मान्छेद्वारा निर्मित, निर्देशित र नियन्त्रित भएकाले एआईले मानव समाजलाई ध्वस्त पार्न सक्दैन । यसलाई सदुपयोग गर्नुपर्छ । सहजताका लागि प्रयोग गर्नुपर्छ ।’ 

एआईलाई सदुपयोग गरिए यसले मानवीय श्रम र बौद्धिक क्षमतालाई सहज बनाउने उनको राय थियो । ओलीले प्रविधिको प्रयोगले समाजका विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भए पनि यसको दुरुपयोगप्रति सचेत रहनुपर्ने बताए । ‘मिथ्या, भ्रामक सूचनाले समाजलाई बिगार्न सक्छ, सही हो कि गलत भनेर छुट्याउन गाह्रो बनाउँछ,’ उनले भने,  ‘त्यसैले एआईको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ ।’

आईटी क्षेत्र चर्चा मात्रै नभएर अब व्यवसाय, उद्योग र हाम्रो दैनिक जीवनको अभिन्न र महत्त्वपूर्ण अंग बनिसकेको प्रधानमन्त्री ओलीले बताए । नेपालको आर्थिक विकासको सन्दर्भमा बोल्दै उनले पछिल्ला केही वर्षको अन्तरालमा राजनीतिक अस्थिरताका कारण उद्योग, व्यापार, उत्पादन र निर्यात प्रभावित भएको उल्लेख गरे ।

‘त्यस प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशील बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउन चाहन्छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर हाम्रो आयस्तर न्यून अवस्थामा छ । यस अवस्थालाई हामीले फेर्नु छ । हामी सबै यस कुरामा जुट्नुपरेको छ ।’

कान्तिपुर

Link copied successfully