मुकेश अम्बानीले एनभिडियासँग मिलेर विश्वकै ठूलो डेटा सेन्टर बनाउने

माघ १६, २०८१

एजेन्सी

Mukesh Ambani to join forces with Nvidia to build world's largest data center

काठमाडौँ — रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष एवं भारतीय खर्बपती मुकेश अम्बानीले विश्वकै ठूलो एआई डेटा सेन्टर निर्माण गर्ने भएका छन् ।‍ अमेरिकी चिप निर्माता एनभिडियासँगको साझेदारीमा अम्बानीले गुजरातको जामनगरमा विशाल डेटा सेन्टर बनाउन लागेको ब्लुमबर्गले जनाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा भारतको प्रवेशलाई यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने अनुमान गरिएको छ ।

गत वर्ष अक्टोबरमा एनभिडिया एआई सम्मेलनका क्रममा रिलायन्सले एनभिडियाको सेमिकन्डर चिप खरिद गर्ने विषयमा साझेदारी घोषणा गरेका थिए । एनभिडियाले आफ्नो उन्नत ब्ल्याकवेल एआई प्रोसेसरहरू रिलायन्सको तीन गिगावाट क्षमताको डेटा सेन्टरका लागि उपलब्ध गराउने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एनभिडियाका प्रमुख जानेसन हुआङ र रिलायन्सका अम्बानी दुवैले स्थानीय स्तरमै एआईको विकासका लागि भारतमा अधिक सम्भावना रहेको औँल्याउँदै आएका छन् ।

हाल विश्वमा सबैभन्दा ठूला डेटा सेन्टरहरू चीन र अमेरिकामा सञ्चालित छन् । तिनको क्षमता एक गिगावाटभन्दा कम रहेको छ । चीनको इनर मंगोलिया इन्फरमेसन पार्कमा रहेको चाइना टेलिकमको डेटा सेन्टरलाई विश्वकै ठूलो मानिन्छ । यो डेटा सेन्टर १ करोड ७ लाख ६ हजार वर्ग फिट क्षेत्रमा फैलिएको छ । यसलाई बनाउन ३ अर्ब डलर लगानी गरिएको थियो । यसमा ५० हजार भन्दा धेरै सर्भर रहेको र १५० मेगावाट विद्युत् खपत गर्ने बताइन्छ ।

रिलायन्सले भारतका विभिन्न भाषाहरूका लागि उपयुक्त एआई प्रविधि, सुपरकम्प्युटर र लार्ज ल्यांग्वेज मोडेलहरू विकास गर्ने प्रयास गरेको छ । यसका लागि डेटा सेन्टर निमार्ण गर्न लागेको हो । भारत सरकार आफैँले पनि एआई स्टार्टप र परियोजनाहरूको प्रवर्द्धन गर्न १० हजार करोडभन्दा धेरै लगानी गर्ने प्रतिबद्ध जनाएको छ । 

एजेन्सी

Link copied successfully