राति १० बजेदेखि उडान बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि राति ११ बजे बन्द भएर बिहान ७ बजे खुल्नेछ ।
काठमाडौँ — पूर्वाधार विस्तारका कारण गत कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी शनिबारदेखि १६ घण्टा सञ्चालन हुने भएको छ । यसअघि राति १० बजेदेखि उडान बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि राति ११ बजे बन्द भएर बिहान ७ बजे खुल्नेछ ।
अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यांगर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग नै बन्द गर्नुपर्ने भएपछि कात्तिक २३ यता १४ घण्टा मात्र विमानस्थल सञ्चालन हुँदै आएको छ । उडान समय घटेपछि राति १० बजेदेखि २ बजेसम्म र बिहान ६ बजेदेखि ८ बजेसम्मका उडानहरू कटौती तथा अघिपछि सारिएको थियो ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान रोकेर काम गर्न भन्दै नोटाम जारी गरेर विमानस्थलभित्र तीन वटा फरक–फरक आयोजनाको काम अघि बढाएको थियो ।
सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठका अनुसार रनवेसँग जोडिएका जटिल काम सम्पन्न भएसँगै उडान समय दुई घण्टा थपिएको छ । उनका अनुसार विमानस्थलभित्र सञ्चालित तीन वटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य सकिएको छ ।
सन् २०२६ पछि वार्षिक झन्डै १ करोड यात्रुलाई सेवा दिने लक्ष्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार विस्तार थालिएको छ ।
त्यसका लागि विमानस्थल विस्तारअन्तर्गत तीन वटा परियोजना सञ्चालन भइरहेको छ । पहिलो परियोजनाअन्तर्गत नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र उक्त एप्रोनलाई उत्तरतर्फको रनवेसँग जोड्ने ट्याक्सी–वे निर्माण भइरहेको छ ।
दोस्रो परियोजनाअन्तर्गत जहाजघर (ह्यांगर) का लागि पूर्वाधार निर्माण भइरहेको छ । विमानस्थलको पूर्वी भागमा नेपाली सेना, नेपाल वायुसेवा निगम, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतका वायुसेवा कम्पनीहरूका लागि करिब ४ अर्ब रुपैयाँमा ह्यांगर क्षेत्र निर्माण भइरहेको छ । यसमा एसियाली विकास बैंकको ७८ प्रतिशत ऋण लगानी छ भने बाँकी २२ प्रतिशत रकम प्राधिकरणले बेहोर्ने छ । तेस्रो, धावन मार्गसँगैको समानान्तर
ट्याक्सी–वे निर्माण परियोजना हो । यसका लागि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
