स्वच्छ ऊर्जा रूपान्तरणका लागि सातबुँदे घोषणापत्र

‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सकियो स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Seven-Point Manifesto for Clean Energy Transition

काठमाडौँ — वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा आयोजना गरेको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन’ सकिएको छ । सम्मेलनले दिगो विकास, जलवायु परिवर्तनबाट सिर्जित असरको सामना एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा प्रतिबद्धताका लागि सातबुँदे ‘काठमाडौं घोषणापत्र’ जारी गरेको हो ।

नवीकरणीय ऊर्जालाई ऊर्जा रूपान्तरणमा तीव्रता दिने, ऊर्जा दक्षताको दरलाई दोब्बर वृद्धि गर्ने, जलवायु अनुकूलन र उत्थानशीलतालाई थप बलियो बनाउने, नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय सहायता वृद्धि गर्ने, अनुसन्धान विकास तथा नवीनतम प्रविधिको माध्यमबाट सर्वसाधारणमा जनचेतना तथा क्षमता अभिवृद्धि गर्ने र पारदर्शी अनुगमन तथा मूल्यांकनलाई प्रोत्साहन गर्ने भन्दै घोषणापत्र जारी गरेको छ ।

संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणी जगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणका लागि सचेतना जगाउने र सोहीबमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने’ उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ का रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा ऊर्जामन्त्री खड्काले ऊर्जा विकासलाई दिगो र समावेशी बनाई न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकास गर्न सरकार योजनाबद्ध ढंगले अघि बढेको बताए । सम्मेलनले समेटेका विषयवस्तु नेपाल सरकारले हालै मात्र स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ ले लिएका लक्ष्यहरूसँग मेल खाने रहेको उनले बताए । जलवायु वित्त, ग्रिन बन्डलगायत नवीनतम वित्तीय स्रोत परिचालन गरी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विकासमा जोड दिनुपर्ने उनको भनाइ छ ।

Seven-Point Manifesto for Clean Energy Transition

ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडीले सरकारको ऊर्जासम्बन्धी नीति, रणनीति र आवधिक योजनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतालाई उच्च प्राथमिकता दिएको बताइन् । जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवालले सम्मेलनले क्षेत्रगत आवश्यकता, अवसर र चुनौतीहरूको पहिचान, लगानीयोग्य आयोजनाहरूको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रूपान्तरणका लागि लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसर सिर्जना गर्ने बताए । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सरकारको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा काम गर्ने मुख्य निकायका रूपमा रहेकाले ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सम्मिश्रण र ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

सम्मेलनमा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तीव्रता दिनका लागि सरोकारवालाहरूबीच अनुभव आदानप्रदान, लगानीको अवसरबारे अन्तरक्रिया भएको थियो । साथै आवश्यक रणनीति तर्जुमाका लागि पाँच वटा प्राविधिक सत्र भएको थियो ।

कान्तिपुर

Link copied successfully