कालीकोट — गाउँमा विद्युत् बाल्न पाउनुपर्ने माग राख्दै अछामतर्फका स्थानीयले अवरुद्ध गरेको विद्युत् विस्तारको काम सोमबारदेखि सुचारु भएको छ । अछामका स्थानीयको मागअनुसार विद्युत्का पोल, तार र टान्सफर्मर गाउँमा पुगेपछि स्थानीयले लाइन तान्ने काम सुचारु गर्न दिएका हुन् ।
आफ्नो गाउँमा विद्युत् नबाल्दासम्म विद्युत लाइन विस्तार गर्न नदिने भन्दै अछामको पञ्चदेवल विनायक नगरपालिका–३ बेल्खेत सयन गाउँ र वडा–४ टोड्केसालका बासिन्दाले अछाम कमलबजार–दैलेख साइगाउँ ३३ केभी लाइन विस्तारमा अवरोध पुर्याएका थिए ।
नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले बेल्खेत र टोड्केसालका बस्तीमा विद्युतीकरण गर्न आवश्यक पोल, तार र टान्सफर्मर उपलब्ध गराएपछि लाइन विस्तारको काम अघि बढ्न दिएको टोड्केसालका अगुवा छत्रबहादुर विष्टले बताए ।
‘काममा अवरोध नगर्दासम्म सुनुवाइ भएन,’ उनले भने, ‘काम रोकिएपछि छलफल भएर हाम्रा माग पूरा हुने भएपछि काम गर्न दिएका हौं ।’ उनले कालीकोट, दैलेखस्थित विद्युत् कार्यालय प्रमुखसहित आएर स्थानीयसँग गरेको छलफलअनुसार सुदूरपश्चिम प्रदेश विद्युत् कार्यालयले सामान दिएर ठेकेदारले गाउँमा आधा सामान झारिसकेकाले काम गर्न दिएको सुनाए । ‘कर्णाली जाने विद्युत्का लाइन तान्न रोक्नु हाम्रो रहर होइन । धेरै पटक अछामलाई भन्दा सुनुवाइ नभएपछि काम रोक्दा मात्र सुनुवाइ भयो,’ उनले भने ।
गाउँमा केही पोल, तार आइसकेकाले स्थानीयले काम सुचारु गर्न सहमति दिएअनुसार काम सुचारु गरेको कालीकोट विद्युत् वितरण केन्द्रका कर्मचारी जयप्रसाद पाण्डेले बताए । उनका अनुसार अछामको कमलबजारबाट लाइन क्लिएर गरेर बेल्खेत गाउँ पुगिसकेको छ । अबको एक साताभित्र ३३ केभीको लाइन विस्तारको काम सकेर कर्णालीका कालीकोट, जुम्ला र मुगुका गाउँमा विद्युत् पुग्नेछ ।
अछामको बेल्खेतमा भएको छलफलमा कालीकोट विद्युत् वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादव, कर्मचारी पाण्डे, दैलेख विद्युत् प्रमुख नरेशदत्त रावल, कर्मचारी पदम ठगुन्ना, स्थानीयको तर्फबाट पूर्व शिक्षकसमेत रहेका विष्ट, डम्मरबहादुर बडुवाल, शेरबहादुर विष्टसहितले हस्ताक्षर गरेको सहमति पत्रमा आवश्यक पर्ने पोल, तार र टान्सर्फमर उपलब्ध गराउने उल्लेख छ ।
संयुक्त बैठकले ११ मिटर स्टिल ट्युबलर पोल ५० थान, ८ मिटरको स्टिल ट्युबलर पोल ४० थान, १२०० र ३०० एमएम प्यानल ४६/४६ थान, ११ केभी इन्सुलेटर १३८ थान, डिस इन्सुलेटर २४ सेट, स्टे तार १२० केजी, ५० एमएम केबुल ८ किलोकिटर, टान्सफरर्मर १ थानसहितका सामान उपलब्ध गराउने निर्णयसमेत गरेको थियो । अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दुरीको ३३ केभी प्रशारण लाइन विस्तारमा स्थानीयले अवरोध गरेका थिए । आफ्नो खेतबाट विद्युत् पोल गाडेर लाइन तान्ने क्रममा आफूलाई पनि बत्ती दिनुपर्ने उनीहरूको माग थियो । वडा ३ बेल्खेत सयन र वडा ४ टोड्केसालका १ सय ४६ घरधुरी अँध्यारोमा थिए ।
कोहलपुर, सुर्खेत, दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालीकोट, जुम्ला र मुगुका १९ हजार घरधुरीलाई विद्युत् नपुगेको जनाउदै गत असारमा कालीकोट विद्युत् वितरण केन्द्रमार्फत अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तारको ६ महिनामा काम सक्ने गरी १ करोड ८८ लाखको टेण्डर गरी काम थालेको थियो । दैलेखको कमलबजारबाट दैलेखको साइखोलासम्मको ९ किमि मध्ये कर्णाली नदी पारिबाट वारिसम्म करिब १ सय मिटर मात्र तार तान्न बाँकी रहेको अवस्थामा काममा अवरोध भएको थियो ।
