उखु किसानको १२ करोड रुपैयाँ तत्काल भुक्तानी दिन पालिकाद्वारा पत्राचार

माघ १५, २०८१

नवीन पौडेल

Correspondence by the Municipality to give immediate payment of 12 crore rupees to sugarcane farmers

परासी — इन्दिरा सुगर मिलले समयमै उखु किसानको बक्यौता रकम नदिएपछि प्रतापपुर गाउँपालिकाले तत्काल भुक्तानी दिन पत्राचार गरेको छ ।

प्रतापपुर गाउँपालिका–८ मा रहेको उद्योगले किसानसँग उधारोमा उखु खरिद गरेको र यस वर्षको सुरुवातदेखि नै भुक्तानी नदिएको भन्दै किसानले गुनासो गरेपछि पालिका प्रमुखले तत्काल किसानको बक्यौता रकम भुक्तानी गर्न पत्राचार गरेका हुन् । 

प्रतापपुर गाउँपालिका अध्यक्ष एवं उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले जिल्लाका अन्य चिनी उद्योगले दस दिनमा क्रमसँगै भुक्तानी दिए पनि इन्दिरा सुगर मिलले भने यो सिजनमा भुक्तानी नै नदिएको बताए ।

‘वर्षौंदेखि उद्योगले समयमा भुक्तानी नदिएर समस्या भोग्दै आएका किसानलाई फेरि इन्दिरा सुगर मिलले समयमा नै भुक्तानी नगर्दा समस्या भयो,’ यादवले भने, ‘हामीले तत्काल भुक्तानी सुरु गर्न आग्रह गरेका छौं । उद्योगले अटेरी गरेमा हामी प्रचलित कानुन अनुसार प्रक्रिया अगाडि बढाउने छौं ।’

चालु आर्थिक वर्षमा उद्योगले उखु क्रसर गरेको १२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ । जिल्लामा इन्दिरा, लुम्बिनी, वाग्मती खाँडसारी र तत्व फर्मा प्रालिले यस वर्ष उखु क्रसिङ गरिरहेका छन् । अन्य उद्योगले समय–समयमा भुक्तानी दिए पनि इन्दिरा सुगर मिलले भने भुक्तानीमा आलटाल गरिरहेको किसानको गुनासो छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully