बेनीघाट–आरुघाट–लार्के खण्डअन्तर्गत आर्खेतदेखि हावाडाँडासम्मको १० किलोमिटर कालोपत्र गरिने
गोरखा — चीन सीमा क्षेत्र लार्के जोड्ने सडकको चुमनुब्री गाउँपालिका–३ पाङसिङसम्म ट्र्याक खुलेको छ । बेनीघाट–आरुघाट लार्के सडकअन्तर्गत हावाडाँडाबाट काम सुरु गरेको नेपाली सेनाले ३६ किलोमिटर ट्र्याक खोलिसकेको छ ।
लार्के सडकको १० किलोमिटर कालोपत्र पनि हुने भएको छ । आर्खेतदेखि हावाडाँडासम्मको सडक कालोपत्रका लागि ६० करोड स्रोत सुनिश्चित भएको हो ।
चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया सुरु गरेर काम अघि बढाउने गोरखा सडक योजनाका प्रमुख अमिन्द्र खड्काले बताए । ‘बुढीगण्डकी डुबान क्षेत्र छाडेर आर्खेतबाट हावाडाँडासम्मको १० किलोमिटर सडक कालोपत्र हुन्छ,’ उनले भने, ‘कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु गर्ने तयारीमा छौं ।’ अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का लागि स्रोत सुनिश्चित गरेको खड्काले जनाए । सडक कार्यालय मातहत रहेको दोभानसम्मको अन्य खण्डमा भने मर्मतको काम हुने उनको भनाइ छ ।
बेनीघाटदेखि लार्केसम्मको १५४ किलोमिटर सडक खण्डमध्ये १० किलोमिटर कालोपत्रको तयारी गरिएको हो । बेनीघाटदेखि हावाडाँडा ६२ किलोमिटर सडक विभागले ट्र्याक खोलेको थियो । हावाडाँदेखि लार्केसम्म ९२ किलोमिटर ट्र्याक खोल्ने जिम्मा भने सेनाले पाएको छ । २०७४ वैशाखबाट हावाडाँडाबाट काम थालेको सेनाको सडक निर्माण कार्यदलले चुमनुब्री–३ पाङसिङसम्म ३६ किलोमिटरको ट्र्याक खोलिसकेको छ ।
पाङसिङभन्दा माथिल्लो क्षेत्रमा चार खण्ड छुट्याएर हाल काम भइरहेको सेनाको सडक निर्माण कार्यदलका मेजर पूर्णचन्द्र ढकालले बताए । चालु आर्थिक वर्ष दुई किलोमिटर ट्र्याक खोल्ने लक्ष्यका साथ काम भइरहेको उनले जनाए । अहिले पाङसिङ, न्याकफेदी, रुबिनाला र पेवामा सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । सेनामार्फत भइरहेको सडकको ट्र्याक खोल्ने कामका लागि चालु आर्थिक वर्ष ७ करोड बजेट विनियोजन गरिएको छ । ‘अहिले चार ठाउँमा काम भइरहेको छ,’ ढकालले भने, ‘९० प्रतिशत क्षेत्रमा कडा चट्टान र पहरो भएकाले ब्लास्टिङ गरेर सडक निर्माणको काम गरेका छौँ ।’
तत्कालीन समयमा लापुको हावाडाँडा भीरमा कडा चट्टान भेटिएर सडक निर्माण रोकिएसँगै २०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सडकको ट्र्याक खोल्ने जिम्मा सेनालाई दिइएको थियो । सडकको ट्र्याक खोल्ने कार्यलाई तीव्रताका लागि पर्याप्त बजेट छुट्याउन स्थानीयले माग राख्दै आएका छन् । लार्के सडकखण्डअन्तर्गत धार्चे–५ माछाखोलामा सेनाले बेलिब्रिज पनि निर्माण गरेको छ ।
प्रदेश र संघ सरकारले आर्खेत, सोती र छेपारे खोलामा मोटरेबल पुल निर्माण गरिसकेका छन् । धार्चे–७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माणाधीन छ । पाङसिङसम्म ट्र्याक खुलेसँगै हिउँदयाममा जिप, ट्र्याक्टर, ट्रकलगायत सवारी पनि सञ्चालन हुन थालेका छन् । पाङसिङसम्म सवारी सञ्चालन भएसँगै उत्तरी क्षेत्रका बासिन्दाको पैदल दूरी छोटिएको छ भने दैनिक उपभोग्य सामग्रीको ढुवानी मूल्य पनि घटेको छ ।
हावाडाँडादेखि काम सुरु गरेको सेनाले धार्चे गाउँपालिकाको लापुबेसी, माछाखोला, तातोपानी, चुमनुव्री गाउँपालिकाको जगत, पाङसिङ, बिही, प्रोक, सामागाउँ हुँदै लार्केभन्ज्याङसम्मको ट्र्याक खोल्नेछ । सडकको ट्र्याक निर्माण सकेर चुमनुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्य छ ।
