४५ वर्षपछि विस्तार हुँदै बुटवल-गोरुसिंगे सडक

प्रधानमन्त्रीबाट भर्चुअल शिलान्यास, तीन वर्षभित्र निर्माण सक्ने दाबी

माघ १२, २०८१

घनश्याम गौतम

Butwal-Gorusinge road expanding after 45 years

बुटवल — ५ वर्षपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे ५० किलोमिटर सडक विस्तार सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बुटवलदेखि गोरुसिंगे सडक विस्तारको भर्चुअल माध्यमबाट बुटवल–१३ जितगढीमा शिलान्यास गरे । शिलान्याससँगै विस्तारको काम सुरु भएको आयोजनाले जनाएको छ । 

तीन वर्षभित्रै राजमार्ग विस्तारको काम सम्पन्न हुने प्रधानमन्त्री ओलीले बताए । ‘सुरुङमार्ग, प्रशासनिक भवन, सडकका ठूला आयोजना समयमै सम्पन्न गर्ने र त्यसको प्रतिफल जनताले पाउने अवस्था सुरु भएको छ,’ उनले भने, ‘हामी देश विकासमा धेरै अघि बढिसकेका छौं ।’

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि चीनका राजदूत चेन सोङलगायतको भने प्रत्यक्ष उपस्थिति थियो । कार्यक्रममा उनीहरूले पनि सम्बोधन गर्दै सडक तोकिएको समयमै नागरिकलाई सास्ती नहुने गरी निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गरे ।

राजा महेन्द्रका पाला २०१९ सालमा निर्माण भएको पूर्व–पश्चिम राजमार्गको बुटवलदेखि चन्द्रौटासम्मको सडक सुरुमा २०३५/३६ मा दुई लेनमा विस्तार गरिएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड ५० लाख अमेरिकी डलर (झन्डै ३५ अर्ब) लागतमा ६९ किलोमिटर सडक अब ४ लेनमा विस्तार हुनेछ । पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्म झन्डै ५० किलोमिटर सडक निर्माण सुरु भएको हो । 

विस्तारका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन् । काम आशिष निर्माण सेवाले गर्नेछ । १९ किलोमिटर गोरुसिंगे–चन्द्रौटा खण्ड दोस्रो चरणमा निर्माण गरिनेछ ।

बुटवलदेखि गोरुसिंगे खण्डमा रूखको मार्किङ, विद्युत् पोलको व्यवस्थापन, माटो, ढुंगा, गिट्टी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्री व्यवस्थापन र सडकको नापजाँच गर्ने काम सकेर शुक्रबार शिलान्यास गरिएको हो । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully