काठमाडौँ — बीपी राजमार्गमा केही समस्या आउनसाथ सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशलाई खबर आइहाल्छ । गत असोजमा बाढीले उक्त राजमार्गको विभिन्न खण्डमा क्षति पुर्याएपछि सवारी आवागमन अस्तव्यस्त बनेसँगै उनलाई गुनासो सुनाउने बढेका छन् ।
त्यसैले सुमनलाई आउँदो बर्खामा कसरी सवारी आवागमन सहज बनाउने भनेर अहिलेदेखिनै पिरलो भएको छ । स्थायी रूपमा निर्माण गर्ने त परको कुरा रह्यो । ‘अध्ययनको काम सक्किसक्यो,’ उनले भने, ‘अध्ययनअनुसार ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने देखिएको छ, त्यसका लागि बजेट माग गरेर पठाए पनि अहिलेसम्म केही जानकारी आएको छैन ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले अध्ययन प्रतिवेदन माग गरे दिन तयार रहेको उनको भनाइ छ । ‘डेढ महिनाअघि नै छिटो काम गर्नुपर्छ भनेर प्रारम्भिक ड्राफ्टको रिपोर्ट दिएर निर्माणका लागि बजेट माग गरिसकेका छौँ,’ उनले भने, ‘निर्माणमा जान सक्नेगरीको अध्ययन पनि गरिसकिएको छ ।’
अब बजेट भए निर्माणको प्रक्रिया अघि बढाउन समस्या नहुने उनको भनाइ छ । ‘रिपोर्ट हातमा छ, तर बजेट छैन, काम गर्न ढिला भइसक्यो,’ उनले भने, ‘निर्माणका लागि स्रोत सुनिश्चितता अझै पाउन सकेनौँ ।’ अहिले काम गर्न नसकिएकाले ढुक्कले आउँदो बर्खामा बीपी राजमार्ग भएर यात्रा गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘बर्खाका लागि अहिले तयारी गर्न सकिएको छैन, ढिलाइ भइसक्यो,’ उनले भने, ‘त्यसका लागि पनि बजेट चाहिन्छ, अब बर्खामा मेसिन उपकरण व्यवस्थापन गरेर जसोतसो सडक चलाउनुको विकल्प छैन ।’ सडक विभागले बजेटको जोहो अझै गर्न सकेको छैन । निर्माणमा ढिला गरे फेरि बर्खा सुरु हुन्छ । त्यो बेला अहिले बनाइएका अस्थायी संरचनाले काम गर्ने छैन । खोलो तर्काएर जसोतसो सडक सञ्चालन गरिएको छ ।
अहिलेसम्म निर्माणका लागि बजेटको व्यवस्थापन गर्न नसकिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए । ‘निर्माणका लागि डिजाइनको काम सकिसकेको जानकारी आएको छ,’ उनले भने, ‘निर्माणमा जान भने बजेटकै कारण रोकिएको छ ।’
उनले माघ अन्तिमसम्म निर्माणका लागि स्रोत सुनिश्चितता भए ठेक्का प्रक्रिया अघि बढाई वैशाखसम्म निर्माणमा जान सकिने बताए । त्यसका लागि अर्थ मन्त्रालयमा जानकारी गराएको र स्रोत सहमति दिने जानकारी पाए पनि निर्णय भएर आइनसकेको उनको भनाइ छ ।
‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पनि निर्माणमा सहयोग गर्ने कुरा छलफलकै क्रममा छ, केही निर्णय भइसकेको छैन,’ उनले भने, ‘अहिले त स्थायी रूपमा काम थालेर पनि सकिँदैन, पहिलो काम बर्खामा सहज रूपमा सवारी चलाउने व्यवस्था मिलाउने हो ।’ अहिले अस्थायी र स्थायी रूपमा सडकसहितका संरचना बनाउन बजेट माग गरिएको उनले बताए ।
यो सडक खण्ड भएर दैनिक ३ हजार बढी सवारीसाधन गुड्छन् । चाडबाडको बेला ७ देखि १० हजार हाराहारी सवारीसाधन ओहोरदोहोर गर्छन् ।
बजेट व्यवस्थापन भएपछि तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का गर्ने योजनामा सडक विभाग छ । काभ्रे भन्ज्याङ–नेपाल थोक खण्डको १२ किलोमिटर सडकमा गत असोज १० देखि १२ सम्म आएको बाढी पहिरोले क्षति गरेको छ । यसको ८.७ किमी सडक खण्ड रोशी खोलाले बगाएको छ ।
काभ्रेको चौकी डाँडादेखि मुल्कोटसम्मको सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकी डाँडादेखि नेपाल थोक खण्डमा छ । बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पुर्याएको छ ।
