धुलो र खाल्डाले बीपी राजमार्गमा सास्ती

माघ ११, २०८१

ज्योती श्रेष्ठ

Dust and potholes plague BP highway

काभ्रे — बनेपाबाट कर्मचारी लिएर मंगलटारको एक कार्यक्रमका लागि हिँडेका बनेपाका सरोज खत्री निर्धारित समयभन्दा दुई घण्टा ढिलो कार्यक्रममा पुगे । कारण थियो, बीपी राजमार्गस्थित नार्के–मंगलटार सडक खण्डमा गाडी बिग्रिएकाले बिहान ३ : ३० बजेदेखि उक्त सडक खण्डमा यातायात सञ्चालनमा अवरुद्ध भयो ।

नार्केको उकालोमा ट्रक बिग्रिएकाले मध्यान्ह १२ बजेसम्म राजमार्गमा सवारी रोकिए । बिहान १० बजेदेखि १२ बज्न लाग्दासम्म पनि उनले सवारीलाई चार सय वेँसीबाट अघि बढाउन सकेनन् । करिब ९ घण्टासम्म राजमार्ग अवरुद्ध भयो ।

सडक डिभिजन कार्यालय भक्तपुरसँगको समन्वयमा बिग्रिएको सवारीलाई राजमार्गबाट पन्छाएर दुईतर्फी यातायात सुचारु गरिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतविक्षत् बनेको यो राजमार्गमा सवारी चलाउन निकै कठिनाई भइरहेको सवारी चालक सरोज खत्रीले बताए ।

Dust and potholes plague BP highway

‘अहिले हिउँदमा सडकमा धुलैधुलो छ । कहाँ खाल्डाखुल्डी छन् केही देखिँदैन, अन्दाजको भरमा गाडी चलाउनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म बाटो बनाउने कुनै तयारी, सानो गाडी बिग्रियो भने पनि घण्टौं जाम हुन्छ, वर्षामा त यो बाटो कसरी हिँड्ने होला ?’

काठमाडौंबाट फिकलका लागि यात्रु लिएर हिँडेका भीमबहादुर सुनुवारलाई सडकको अवस्था देख्दा दिक्दारी लाग्न थालेको छ । सडकको अवस्था नाजुक भएकाले जोखिम मोलेरै यात्रा गर्नुपर्ने उनले बताए । बाढीपहिरोले भत्किएको भकुण्डेबेसी–नेपालथोक खण्डमा नयाँ ट्रयाक खोलेर बाटो खुलाएपछि उनले राजमार्ग हुँदै कयौंपटक काठमाडौं–फिकल यात्रा गरिसके । ‘हाम्रो त ओहोर–दोहोर गर्ने बाटो नै यहीँ हो,’ उनले भने, ‘कयौं पटक हिँडियो । अचेलको जस्तो दुःख भने कहिल्यै पाएको थिएन ।’

उनका अनुसार सडकको अवस्थाका कारण गन्तब्यमा पुग्ने समयको कुनै अनुमान नै गर्न नसकिने भएको छ । ‘धुलोले कहाँ खाल्डाखुल्डी छ थाहै हुँदैन,’ उनले भने, ‘वर्षा भए झन् कति दुःख हुने हो, कुन बेला कहाँ जाम हुन्छ थाहै हुँदैन ।’ ढुवानीको साधन चलाउँदै आएका सिन्धुली सुनकोशी गाउँपालिका–१ का राज तामाङ भकुण्डेदेखि नेपालथोकसम्मको सडकको अवस्था नाजुक रहेको बताउँछन् ।

Dust and potholes plague BP highway

‘बाटो बिग्रेको ४ महिना भइसक्यो । यस्तो सास्ती कहिलेसम्म खेप्नुपर्ने हो ?’ उनले भने, ‘कहिले कता कहिले कता बाटो जाम भइरहेकै हुन्छ, भनेको समयमा ठाउँमा पुग्नै पाइदैन ।’ सिन्धुलीदेखि मोटरसाइकलमा काठमाडौं हिँडेका प्रकाश वाइबाको शरीरमा धुलो नभएको कहीँ बाँकी थिएन । ‘कहाँ पुग्नुपर्ने मान्छे, घण्टौंसम्म जाममा परियो । बाटोको अवस्था बुझेर मात्रै हिँड्नुपर्ने रहेछ,’ उनले भने, ‘बाटो बिग्रेकाले भनेको समयमा ठाउँमा पुग्न पनि नसकिने भयो ।’

जापान सरकारको सहयोगमा २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु भएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

असोज दोस्रो साताको बाढीले भकुण्डे–नेपालथोक खण्डको १० किलोमिटरभन्दा बढी सडक भत्काएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोले अबरुद्ध राजमार्ग दुई सातापछि सञ्चालनमा ल्याए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमा रोक लगाउँदै आएको थियो । उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सवारी सञ्चालनमा ल्याइएको कार्यालयले जानकारी दिएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully