बिमा प्राधिकरणका अध्यक्षका लागि १२ जनाको आवेदन

माघ ११, २०८१

कान्तिपुर संवाददाता

12 applications for Chairman of Insurance Authority

काठमाडौँ — नेपाल बिमा प्राधिकरणको रिक्त रहेको अध्यक्षका लागि १२ जनाको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ । यसअघिका अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट स्वत: निलम्बन भएका थिए ।

त्यससँगै रिक्त रहेको प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गत पुस २६ गते १५ दिनको समय राखेर आवेदन आह्वान गरेको थियो ।

अध्यक्षका लागि आवेदन दिनेहरुमा कमलप्रसाद रेग्मी, देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाई, विष्णुवावु मिश्र, वुद्ध काजी श्रेष्ठ, दामोदर वसौला, डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका छन् ।

समितिले जारी गरेको सूचनामा अध्यक्ष पदको निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्योसरहको उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ । सम्बन्धित क्षेत्रमा कम्तीमा पााच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको पनि हुनुपर्ने व्यवस्था छ ।

यस्तै, उच्च नैतिक चरित्र भएको, तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूर नलागेकोलगायतका योग्यता तोकिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully