काठमाडौँ — नागरिक एपमा राष्ट्रिय परिचयपत्र ‘लाइभ’ गरिएको छ । मंगलबार दिउँसोबाट नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र देखिने भएको हो । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच अन्तरआबद्धता (इन्टिग्रेसन) को प्रक्रिया सकिएसँगै परिचयपत्र एपमा आएको हो । एपभित्र 'नेसनल आईडी' विकल्प देख्न सकिन्छ । यसमा थिचेर आफ्नो परियचपत्र नम्बर राखेपछि एप र परिचयपत्र 'सिंक्रोनाइज' भएर परिचयपत्र देखापर्छ ।
गत कात्तिक २ को मन्त्रिपरिषद् बैठकले अन्तरआबद्धताका लागि स्वीकृति दिएको थियो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तरआबद्धता कायम गर्न प्राविधिक परीक्षण गरिएको सूचना प्रविधि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ । आवश्यक सबै परीक्षणपछि राष्ट्रिय परिचयपत्र र नागरिक एपबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो ।
सूचना प्रविधि विभागका अनुसार हाल करिब ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन् । एन्ड्रोइडमा ४९ लाख १० हजार ५ सय ९६, आईओएसमा ६ लाख १२ हजार १ सय १५ र वेबमा २३ सय २७ डाउनलोड भइसकेको छ । एपमा हाल ३२ वटा निकायका ६२ वटा सेवा तथा सूचना आबद्ध गरिएको छ ।
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण संकलन भइसकेको र हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको विभागले जानकारी दिएको छ । यसमध्ये ५५ लाख वटा कार्ड विभिन्न जिल्लामा पठाइएका छन् भने हालसम्म २० लाख कार्ड मात्रै वितरण भएको छ । मुगु, डोल्पा र हुम्लाबाहेक देशभरबाट परिचयपत्रका लागि नागरिकका विवरण संकलन भएका छन् ।
परिचयपत्र वितरणमा ढिलाइ भएकोबारे गत साता संसदीय समितिमा सांसदहरूले प्रश्न उठाएका थिए । त्यसमा पञ्जिकरण विभागका महानिर्देशक युवराज कट्टेलले परिचयपत्रको नम्बर भए पुग्ने र डिजिटल प्रति नागरिक एपमा आउने बताएका थिए । उनले कार्ड छापेर फजुल खर्च गरिएछ कि भन्ने आशयसमेत प्रकट गरेका थिए ।
