अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन माघ दोस्रो साता

माघ ७, २०८१

रासस

International Clean Energy Conference, second week of January

काठमाडौँ — वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ । केन्द्रले सोमबार पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणका लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ लाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रुपमा मनाउँदै आएको छ । 

सम्मेलनको पहिलो दिन यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती तथा अवसरबारे सरोकारवालासँगको अन्तरक्रिया गर्ने केन्द्रले जनाएको छ । दोस्रो दिन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने, विकास साझेदारहरुको प्राथमिकता सम्बन्धमा जानकारी हासिल गर्ने एवं आगामी सहकार्य सम्बन्धमा विकास साझेदारहरुसँग छलफल गर्ने केन्द्रको भनाइ छ । सम्मेलनको तेस्रो दिन उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी सम्मेलन आयोजना गरिनेछ । 

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अन्तिम दिनको कार्यक्रममा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने स्वच्छ ऊर्जा रुपान्तरणलाई तीव्रता दिनका लागि सरोकारवालाबीच अनुभव आदानप्रदान, लगानीको अवसरबारे अन्तरक्रिया एवं आवश्यक रणनीति तर्जुमाका लागि विभिन्न प्रस्तुति रहने जानकारी दिए ।

'सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता  एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक, प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ता, यस क्षेत्रका अभ्यासकर्ता निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज एवं क्षेत्रगत विज्ञहरु एउटै स्थलमा उपस्थित हुने अवसर जुटाउनेछ,' उनले भने । 

ढकालका अनुसार सम्मेलनमा तीन सय ५० भन्दा बढीको सहभागिता रहनेछ । यसका लागि १० वटाभन्दा बढी विभिन्न संस्थाहरुको सहयोग रहने केन्द्रको भनाइ छ ।

क्षेत्रगत आवश्यकता, अवसर र चुनौतीहरुको पहिचान, लगानीयोग्य आयोजनाको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रुपान्तरणका लागि लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसर, नेपालको ऊर्जा रुपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी  एवं भविष्यको लगानी छनोटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासबारे अनुभव आदानप्रदान सम्मेलनको मुख्य लक्ष्य रहेको उनको भनाइ छ । 

सम्मेलनमा सम्भाव्य लगानीयोग्य आयोजना प्रस्तुत एवं लगानी अभिवृद्धिमा जोड, ज्ञानमूलक सामग्रीको उत्पादन, प्रकाशन तथा वितरण पनि सम्मेलनमा गरिनेछ । 'ऊर्जा रुपान्तरणका लागि क्षेत्रगत आवश्यकताको पहिचान, ऊर्जा रुपान्तरणका लागि लगानी आवश्यकता र जलवायु वित्तका लागि विभिन्न संयन्त्र पहिचान, लगानी अभिवृद्धि एवं विकास सहकार्य थप मजबुत हुने अपेक्षा छ,' उनले भने ।

सम्मेलनबाट नेपाल सरकारबाट हालै स्वीकृत ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ र  विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० को प्रभावकारी कार्यान्वयनका लागिसमेत सहयोग पुग्ने अपेक्षा छ । ऊर्जा रुपान्तरणसम्बन्धी विभिन्न विषयवस्तुमा आधारित रही पाँचवटा पूर्ण सत्र  सञ्चालन गरिनेछ । 

रासस

Link copied successfully