कालोपत्र गर्ने, कल्भर्ट बनाउने र दाउन्नेमा पहाड काट्ने काम जारी, ६ वर्षयताकै सबैभन्दा रफ्तारमा काम भइरहेको आयोजनाको दाबी
परासी — तेस्रो पटक थपिएको म्याद सकिन सात महिना मात्र बाँकी रहँदा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको कामलाई ठेकेदारले तीव्रता दिएको छ । म्याद थपिएको चार महिनासम्म पनि काम नगरेको ठेकेदार कम्पनी चिनियाँ कम्पनी चाइना स्टेट कर्पोरेसनले अहिले पूर्वी र पश्चिम दुवै खण्डतर्फको कामलाई तीव्रता दिइरहेको छ ।
कालोपत्र गर्ने, कल्भर्ट बनाउने र दाउन्नेमा पहाड काट्ने काम भइरहेको छ । सडक विस्तार सुरु भएको ६ वर्षयताकै अहिले सबैभन्दा रफ्तारमा काम भइरहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजना कार्यालयले जनाएको छ । अहिले पूर्वी खण्डको गैंडाकोटदेखि दाउन्नेसम्म १६ स्थानमा कालोपत्रको तयारी गरेको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।
‘सडक विभागले अन्तिम चेतावनी दिएको र हरेक महिना लक्ष्यअनुसार काम गर्न कडाइसाथ निर्देशन दिएपछि ठेकेदारले कामलाई तीव्रता दिएको छ,’ खनालले भने, ‘अबको एक महिनामा यात्रुलाई महसुस हुने गरी कामको प्रगति देखिनेछ । यो अहिलेसम्मकै कामको रफ्तार हो ।’
पश्चिम खण्डमा पश्चिम नवलपरासीको सुनवल, भुमही, बर्दघाट र रूपन्देही क्षेत्रमा कालोपत्रको तयारी भइरहेको छ । परामर्शदाता कोरियन कम्पनीले ठेकेदारलाई चेतावनी–पत्र (नोटिस टु करेक्ट) पठाएर मंसिर २५ सम्म सडकको एकातर्फ ७० प्रतिशत कालोपत्र र चैत १७ भित्र नारायणगढदेखि बुटवलसम्म १ सय १६ किलोमिटरमा एकातर्फ सबै कालोपत्र हुनुपर्ने सर्त राखेको छ ।
मंसिर २५ सम्म ७० प्रतिशत कालोपत्र हुनुपर्ने सर्त पूरा नभए पनि कामले तीव्रता लिएकाले चैतसम्मको लक्ष्य पूरा गर्ने आयोजना कार्यालयको आशा छ । अहिलेसम्म दुवै खण्डमा गरेर ५४ प्रतिशत काम भएको छ । २०७५ चैत ८ मा सुरु भएको राजमार्ग विस्तारको काम २०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । कोरोना संक्रमण र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ सम्म म्याद थपिएको थियो ।
पहिलो पटक थपिएको म्यादमा कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ सम्म थपियो । दोस्रो पटक पनि काम नसकिएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ सम्मका लागि म्याद थपिएको छ ।
१ सय १४ किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटरलाई ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटरलाई ‘ख’ खण्डमा विभाजन गरेर काम भइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगम १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार जारी छ ।
