सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोगका लागि महासंघको आग्रह

माघ ६, २०८१

कान्तिपुर संवाददाता

The request of the federation for the use of indigenous products in public bodies

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ मसिर २८ गते बैठकबाट “सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१ ” पारित हुनु स्वागत योग्य रहेको र अब त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध ग्रोत साधनको अधिकतम प्रयोग गर्नु पर्ने व्यवस्था गरेको छ । स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारले “सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका –२०८१ जारी गरेको हो ।

सरकारको यो निर्णयवाट स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्नेमा विश्वास गर्दै नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सबै सदस्यहरुमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह छ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्ने अध्यक्ष ढकालको दाबी छ ।

कान्तिपुर

Link copied successfully