व्यावसायिक सुन्तला खेतीले फेरिएको बाग्चौर

बाग्चौर नगरपालिकाको कोटमौलाबाट गत वर्षसम्म १२ करोडको सुन्तला निकासी भएकामा यस वर्ष उत्पादन राम्रो भएकाले १५ करोड पुग्ने अनुमान 

माघ ६, २०८१

विप्लव महर्जन

Bagchaur transformed by commercial orange farming

सल्यान — बाग्चौर नगरपालिका–९ डाँगीगाउँका भरतनाथ योगीले २०४४ सालदेखि सुन्तला खेती गरिरहेका छन् । आफ्नो घर नजिकै रहेको ४५ रोपनी जग्गामा एक हजार बोट लगाएका उनले सुन्तला बेचेरै बर्सेनि २७/२८ लाख आम्दानी गर्दै आएका थिए ।

गत वर्ष भने ३५ लाखको सुन्तला बिक्री गरेको उनको दाबी छ । यस वर्ष ३५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्ने उनको लक्ष्य छ । जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने उनी ‘करोडपति किसान’ हुन् । 

२०४२ सालदेखि २८ रोपनी जग्गामा व्यावसायिक रूपमा सुन्तला खेती गरेका ५७ वर्षका गिरदल डाँगीले बगैंचाबाटै गत वर्ष १८ लाखको सुन्तला बिक्री गरेका थिए । उनले यस वर्ष २२ लाखमा ठेकेदारलाई ठेक्का दिइसकेका छन् । सुन्तला बेचेर वार्षिक १८ देखि २० लाख कमाउँदै आएका उनले १२ जनाको परिवारको रेखदेख गर्दै दाङका घरजग्गा जोडेका छन् ।

यी दुई मात्र नभई जिल्लामा बाग्चौर नगरपालिकाको कोटमौला सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँका किसानको मुख्य पेसा सुन्तला खेती हो । यहाँका ५ सयभन्दा बढी स्थानीय घरघरमा बगैंचा बनाएर सुन्तला उत्पादन व्यवसायमा लागेका छन् । सुन्तला बेचेर एक परिवारले १५ देखि ३५ लाखसम्म कमाउँदै आएका छन् ।

त्यति मात्र नभई कोटमौलाबाट १२ करोडभन्दा बढीको सुन्तला निकासी गर्दै आएका छन् । मकै र गहुँ बाली लगाउने पाखो जग्गामा व्यावसायिक सुन्तला खेतीमा लागेपछि कोटमौलावासीको आर्थिक हैसियतसँगै बस्तीकै मुहार फेरिएको छ । 

आर्थिक वर्ष २०४३/४४ देखि फाटफुट र २०५० देखि व्यावसायिक रूपमा सुन्तला खेतीमा लागेका कोटमौलाका सबै किसान विगतमा खाद्य बालीबाट बाह्रै महिना खान नपुग्दा सधैं मजदुरीका लागि भारतको कालापहाड जान बाध्य थिए । वर्षभर छाक टार्न समस्या हुँदा मजदुरी गर्न र साहुसँग ऋण सापटी लिएर घर खर्च चलाउने उनीहरूलाई अहिले घरमै रोजगारी मिलेको छ ।

वार्षिक एकै घरले लाखौं रकम भित्र्याउन थालेपछि अन्यलाई रोजगारी मात्र नभई घरजग्गा र छोराछारीलाई उच्च शिक्षा दिलाएका छन् । विगतमा काम खोज्दै हिँड्ने किसान अहिले चार–पाँच जनालाई रोजगारी दिन सक्ने भएका छन् । 

सुन्तला खेतीबाट आफ्नो मात्र नभई बस्तीवासीकै मुहार फेरिएको सुन्तला किसान भरतनाथ योगीले बताए । २०४४ सालतिर कृषिमा विकास कार्यालय सल्यानमा आएका प्रमुख रामप्रसाद पुलामीले सुन्तला उत्पादनका लागि राम्रो ठाउँ भएको र उनैले सुन्तला लगाउन उत्साहित गरेको उनले जानकारी दिए ।

‘पुलामीले उत्साहित गरेपछि मैले स्वास्थ्य कार्यालयमा जागिर खाँदै घरको बाली लगाउने जग्गामा सिम्लाबाट ल्याएको सुन्तला लगाएको थिएँ । सुन्तला लगाएपछि भोकै बस्नुपर्छ भनी बुबाले उखेलेर फालिदिनुभएको थियो । मैले तिनै बिरुवा ल्याएर रोपें र थप्दै गएँ । अहिले त्यसैको फल मिलेको छ,’ उनले भने, ‘जागिरबाट आएको तलबले घर खर्च ठिक्क हुन्थ्यो । सुन्तला बेचेर आम्दानी गरेको रकमले सहज रूपमा छोराछोरी पढाएको छु । जग्गा जोडेको छु । १० देखि १२ जनालाई रोजगारी दिएको छु । केही रकम व्यापार व्यवसायमा लगानी गरेको छु ।’

कमाएको पैसाबाट व्यापार व्यवसाय गर्दै आएको र गाउँमा भएको घर चिटिक्क पारेको सुन्तला बेचेर वार्षिक २० लाखसम्म कमाउँदै आएका नेकपा समाजवादीका नेता लोकबहादुर डाँगीले बताए । सुन्तलाबाट कमाएको पैसाले विगतमा लागेको ऋण तिरेको उनले जनाए ।

‘विगतमा बेरोजगारीको समस्याका कारण घर खर्च चलाउन गाह्रो भएपछि म पनि मजदुरीका लागि पटकपटक भारतको विभिन्न स्थानमा गएको थिएँ । त्यहाँबाट फर्केर राजनीतिमा लागें । अहिले पनि राजनीतिसँगै सुन्तला खेती गरिरहेको छु । प्रत्येक वर्ष कमाइ हुने पैसाले घरका सबै समस्या समाधान भएका छन्,’ उनले भने । 

विगतमा तीन महिना घर खर्च चलाउन गाह्रो हुने कोटमौलावासी व्यावसायिक सुन्तला खेतीमा लागेपछि सबैको जीवनस्तरमा धेरै सुधार भएको बाग्चौर नगरपालिका–९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीले बताए । सुन्तलाबाटै कमाएको रकमले प्रत्येक किसानले धेरै सम्पत्ति जोडेको, आफू बस्ने घर व्यवस्थित बनाएका उनले जनाए । घरघरमा सुन्तलाको बगैंचा बनाएका स्थानीय किसानले बस्तीभित्रका अन्यलाई समेत रोजगारी दिएका छन् । पछिल्लो समय बेलाबेला विभिन्न रोगको प्रकोपका कारण किसान समस्यामा परेको उनको भनाइ छ । 

जिल्लाभरका किसानले १ हजार ८ सयभन्दा बढी हेक्टरमा सुन्तला खेती गरेकामा बाग्चौर नगरपालिकाको कोटमौलामा मात्र ५ सय हेक्टरमा किसानले सुन्तला लगाएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले बताए । बाग्चौर नगरपालिकाको कोटमौलाबाट गत वर्षसम्म १२ करोडको सुन्तला निकासी भएकामा यस वर्ष उत्पादन राम्रो भएकाले १५ करोड पुग्ने देखिएको उनले जनाए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully