‘आर्थिक क्षेत्रका कानुन संशोधन स्वागतयोग्य’

माघ २, २०८१

कान्तिपुर संवाददाता

”Welcome amendments to economic sector laws”

काठमाडौँ — निजी क्षेत्रले सरकारले हालै गरेको कानुन संशोधन स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले विज्ञप्ति जारी गर्दै आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्न कानुनमा गरिएका संशोधन स्वागतयोग्य रहेको जनाएका हुन् । 

‘मुलुकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न, लगानी अभिवृद्धि एवं सार्वजनिक सेवा प्रवाहमा सुशासन प्रवाह गर्न हालै कानुनहरूमा गरिएको संशोधनलाई परिसंघले स्वागत गर्छ,’ विज्ञप्तिमा भनिएको छ । सरकारले आर्थिक तथा व्यावसायिक 

वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत ११ वटा, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत १३ वटासहित जम्मा २४ वटा कानुनमा संशोधन गरेको थियो । 

यो संशोधनले मुलुकमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्ने निजी क्षेत्रले उल्लेख गरेका हुन् । ‘आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक छ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चेम्बरले अर्थतन्त्रको शिथिलता अन्त्य गर्न अध्यादेश महत्त्वपूर्ण भएको भन्दै संसद्को हिउँदे अधिवेशनबाट टुंग्याउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

कान्तिपुर

Link copied successfully