काठमाडौँ — निर्माण उद्योगका विद्यमान समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै महासंघ अध्यक्ष रवि सिंहले गत पुस २७ गते राजधानीमा सम्पन्न राष्ट्रिय भेलाले दिएको म्याडेन्टअनुसार आन्दोलन गर्न लागिएको जानकारी दिए । भेलाबाट पारित भएबमोजिमको १४ बुँदे माग सार्वजनिक गर्दै अध्यक्ष सिंहले आन्दोलन आफूहरूको रहर नभई बाध्यता भएको पनि बताए ।
घोषित आन्दोलनका कार्यक्रम अनुसार महासंघले १४ बुँदे माग पूरा गराउनका लागि माघ ३ देखि ७ गतेसम्म प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्षहरू, सम्बन्धित संघीय सरकारी निकायमा ज्ञापनपत्र बुझाउने भएको छ । सोही अवधिमा प्रदेश महासंघले सम्बन्धित मुख्यमन्त्री र जिल्ला संघले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई माग पूरा गराउन माघ १५ गतेसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
महासंघले माघ १८ गते माइतीघर मण्डलामा धर्ना तथा माघ २० मा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने जनाएको छ । माघ २१ गतेबाट राजधानी प्रवेश गर्ने पूर्वी र पश्चिमी नाकाहरू ठप्प पार्ने चेतावनी पनि दिएको छ ।
माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै आयोजनाको निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने महासंघका अध्यक्ष सिंहले बताए । आन्दोलनका कार्यक्रम सार्वजनिक गरिए पनि आफूहरू वार्ता र संवादकै पक्षमा रहेको पनि उनले स्पष्ट पारे ।
कालोबजारीलाई सरकारबाटै संरक्षण भएको आरोप लगाउँदै अध्यक्ष सिंहले राज्य सीमित व्यक्तिहरूको सेटिङमा चल्दा उद्यमी तथा आमजनता निरीह भएको बताए । अव्यावहारिक ऐन कानुन तथा नीति नियमका कारण स्वदेशी तथा विदेशी कसैले पनि मुलुकमा काम गर्ने अवस्था नरहेको अध्यक्ष सिंहको भनाइ थियो । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी)ले निर्माण उद्योगका समस्यालाई राज्यले संवेदनशील रूपमा कहिल्यै नलिएको बताए ।
महासचिव रोशन दाहालले महासंघले अघि सारेका १४ बुँदे माग अविलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता शिवहरि घिमिरेले पटक–पटक सरकारसमक्ष निर्माण उद्योगका समस्याबारे अवगत गराउँदा समेत कुनै सुनुवाइ नभएकाले आन्दोलन घोषणा गर्नु परेको बताए । निर्माण कार्य हुने सिजनमै सिमेन्ट उद्यमीहरूबाट बिनाकारण खुलेआम ‘कार्टेलिङ’ एवं कालोबजारी गरी सिमेन्टका साथै डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धि, भुक्तानी अभाव, सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता रहेको बताए ।
