धनगढीमा रहेको डिपो कैलालीमा स्थानान्तरण गरिने
काठमाडौँ — नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीमा रहेको इन्धन डिपो अब सर्ने भएको छ । सुरक्षाका दृष्टिले अति जोखिम रहेको इन्धन डिपोलाई कैलालीमा स्थानान्तरण गर्न लागेको हो । २०३७ सालमा ४ वटा गाडीका लागि बनेको धनगढीको डिपो अहिले सुरक्षा मापदण्डभन्दा बाहिर सञ्चालन भइरहेको छ । १ बिघा ८ कट्ठामा सञ्चालित धनगढी डिपो क्षेत्रफलकै कारण सुरक्षाको मापदण्डभन्दा बाहिर छ ।
डिपोसँगै सर्वसाधारणको घर पनि जोडिएकाले डिपो अन्य ठाउँमा स्थानान्तरण गर्न अपरिहार्य भएको निगमले जनाएको छ ।
‘धनगढीको डिपो सुरक्षा मापदण्डबाहिर गएर सञ्चालन भइराखेको छ । डिपो सार्नुपर्नेमा दुईमतै छैन । यसका लागि ५/७ वर्षदेखि कुरा उठेको पनि हो,’ काठमाडौंको सिनामंगल हवाई इन्धन डिपोमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले भने, ‘धेरै प्रयासपछि कैलालीको गोदावरी नगरपालिकामा जग्गा भेटिएको छ । सुदूरका ९ जिल्लालाई पायक पर्छ ।’
धनगढीस्थित डिपोबाट जोखिम भएको सर्वसाधारणको गुनासो आएपछि निगमले कञ्चनपुर जिल्लाको पुनर्वास ३ र ६ स्थित राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जग्गामध्ये २२ बिघा जग्गा मागेको थियो । तर नगरपालिका र कम्पनीबीच जग्गा विवादले त्यहाँ बन्ने अवस्था रहेन । त्यसपछि निगमले विभिन्न स्थानमध्ये कैलालीको अत्तरियाको जग्गा उपयुक्त भेटाएको हो ।
‘धनगढीमा बन्ने डिपोले मुख्यतः ९ जिल्लामा आपूर्ति गर्छ, त्यसको सेरोफेरोमा रहेर डिपोका लागि जग्गा खोज्नुपर्ने थियो । सीमाबाट पनि टाढै राख्नुपर्यो । सबै क्षेत्रमा हेरेपछि कैलालीको अत्तरियामा उत्तम देखियो,’ यादवले भने, ‘जग्गा प्राप्ति ऐनअनुसार नै खरिद हुन्छ ।’
हालको डिपोमा दैनिक अधिकतम ४ गाडीलाई दृष्टिगत गरी डिपो निर्माण गरिएको थियो । २०३७ सालमा बनेको डिपो १ बिघा ८ कट्ठामा छ । यो डिपोको क्षमता २ हजार ८९० किलोलिटर मात्रै छ । यसमध्ये पेट्रोल ८३० किलोलिटर, डिजेल १५९० किलोलिटर, मट्टीतेल ७० किलोलिटर र पानीट्यांकी ४ सय किलोलिटर क्षमता छ । अहिले माग बढ्दो क्रममा छ । डिपो वरिपरि बस्ती छ ।
‘डिपो घना बस्तीसँगै छ । व्यावसायिक मागसमेत धान्न नसक्ने भएकाले कैलालीको अत्तरियामा सार्न लागिएको हो,’ यादवले भने । निगमले नयाँ डिपो बनाउन पहिचान जग्गा कैलालीको गोदावरी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ । डिपोले बस्ती जोखिममा परेपछि सर्वसाधारणले डिपो सार्नुपर्ने माग गर्दै आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समेत डिपो सार्न निगमलाई निर्देशन दिएका छन् । मन्त्री भण्डारी, निगम सञ्चालक समिति अध्यक्ष गोविन्दबहादुर कार्की र निगमका कार्यकारी निर्देशक चण्डिका भट्टको विशेष पहलमा धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि तथा नयाँ स्मार्ट डिपो बनाउन लागिएको हो ।
कैलालीको अत्तरियामा बन्ने नयाँ डिपोमा पेट्रोल १८०० किलोलिटर, डिजेल ६६०० किलोलिटर, मट्टीतेल ५०० किलोलिटर क्षमताको बन्नेछ । पानीट्यांकी ३००० किलोलिटर क्षमतासहित कुल ११ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट डिपो निर्माण हुने यादवले जनाए । ‘जग्गा प्राप्तिको निर्णय निगम सञ्चालक समिति र सरकारको मन्त्रिपरिषद्बाट छिट्टै सम्पन्न हुने अपेक्षा छ । मन्त्रिपरिषद्को निर्णयसँगै २०८१ चैतभित्र सरकारबाट जग्गा अधिकरण सम्पन्न हुने अपेक्षा छ,’ यादवले भने, ‘त्यसपछि २०८२ वैशाख पहिलो साता डीपीआर एवं डिपो निर्माणको शिलान्यास गरिनेछ, २०८४ वैशाखबाट नयाँ स्मार्ट डिपो सञ्चालनमा ल्याउँछौं । यसको कुल अनुमानित लागत साढे ३ अर्ब लाग्ने प्रक्षेपण छ ।’
