मार्सी धानको मूल्य प्रति केजी १२० रुपैयाँ

पुस २६, २०८१

डीबी बुढा

The price of marsi paddy is Rs 120 per kg

जुम्ला — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले मार्सी धान खरिद गर्न थालेको छ । प्रति क्वीन्टल १२ हजार रुपैयाँमा मार्सी धानको खरिद प्रक्रिया सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको अध्यक्षतामा रहेको स्थानीय खरिद समितिले प्रतिकेजी १२० रुपैयाँमा मार्सी धान खरिद गर्न मिल्ने मूल्य तोकेको हो ।

जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उद्योग बाणिज्य संघ र स्थानीय चलनचल्तीमा रहेको मुल्य समायोजन गरेर धानको मुल्य तोकिएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिए ।

गत असोज २३ गते नै मार्सी धान खरिद कार्य सञ्चालन गर्न कम्पनीको खरिद विभागले पत्र पठाइसकेको थियो । खरिद विभागले तोकेको मापदण्ड अनुसारको मार्सी धान पाइने नपाइने अन्योल छ । 'मार्सी धानको खरिद कोटा तोक्नु किसानहरूको हितमा छ,' सूचना अधिकारी शर्माले भने,‘खरिद विभागले तोकेको मापदण्ड अनुसारको मार्सी धान पाइने हो या नपाइने हो भन्ने चिन्ताको बिषय बनेको छ ।’

खरिद विभागको मापदण्ड अनुसारको धान खरिदका लागि पहिलो चरणमा प्राविधिक टोली खटिएको छ । टोलीको प्रतिबेदनका आधारमा किसानहरू घरदैलोमा पुगेर धान खरिदको काम अघि बढ्नेछ । मार्सी धान घरमै बेच्न पाइने भन्दै किसान खुसी छन् ।

प्रतिकेजी मार्सी चामल एक सय ७० रुपैयाँमा बेच्दै आएका किसानहरू धान बेच्न पाउँदा निकै उत्साहित छन् । खरिद विभागले मार्सी धान खरिदको लागि १८ प्रतिशत चिस्यान हुनुपर्ने, बाह्य पदार्थ २ प्रतिशत भन्दा बढी मिसिएको हुन नहुने, ५ प्रतिशत भन्दा बढी बिग्रेको दाना भेटिन नहुने र ८ प्रतिशत भन्दा बढी मिश्रण हुन नहुने गरेर मापदण्ड तोकेको छ । 

The price of marsi paddy is Rs 120 per kg

सूचना अधिकारी शर्माले धान जिउँदो किरारहित, एकहन सफा, ढुसी नपरेका, कुनै अवाञ्छित गन्ध नभएको मानव उपयोगको लागि योग्य हुनुपर्ने छ । 'अहिलेसम्म त्यो मार्सी धानमा भेटाएनौं,' उनले भने, ‘अहिले खरिद गर्ने कि नगर्ने अलमलमा छौं । प्राविधिक टोली गाउँमा परिचालन भएको छ ।’ रोडा, ढुंगा, माटो, बालुवा तथा जैविक वस्तु मिसावट हुन नहुने समेत उनको भनाइ छ । 

'जहाँ-जहाँ मार्सी धानको खेती हुन्छ, त्यहीबाट धान खरिद गर्ने तयारी छ । मार्सी धान खरिदको लागि जिल्लाका आठ वटै स्थानीय तहमा परिपत्र भइसकेको छ । उसो त सिंजा गाउँपालिकामा खरिद सम्झौता समेत भइसकेको छ,' सूचना अधिकारी शर्माले भने, ‘सिंजाले मापदण्ड अनुसारको धान दिन सकेन। हामीले धान उठाउन सकेनौं । न अहिले सम्झौता रद्ध भएको छ नत कार्यन्वयन नै भएको छ ।’

एक क्वीन्टल धान खरिद गर्दा ६५ केजी चामल आउनुपर्ने हुन्छ । तर अहिलेको अवस्थाले मार्सी धान निकै कम हुने गरेको किसानहरूले बताइरहेका छन्। कोटा आउँदा समेत मार्सी धान खरिद गर्न आलटाल भइरहेको भन्दै किसान आक्रोशित छन् । स्थानीय रतनबहादुर रावतले कोटा अनुसारको मार्सी धान खरिद गर्न आग्रह गरे । उनले भने, ‘मार्सी धानको गुणस्तरका आधारमा खरिद गर्ने र मार्सी चामलको प्रोत्साहनमा जोड दिनुपर्ने देखिन्छ।’ 

The price of marsi paddy is Rs 120 per kg

पछिल्लो समयमा मार्सी धानमा मरुवा रोगको प्रकोप बढ्न थालेपछि उत्पादनमा गिरावट आएको छ । कुल २९५० हेक्टरमा धान खेती हुने गरेकोमा १२ सय हेक्टरमा मात्र मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ ।

धानमा झारनासक विषादीको प्रयोग गर्ने देखि बिउ पुरानो भएकोले गुणस्तरको मार्सी धान उत्पादन हुन नसकेको कृषि विज्ञहरू बताउँदै आइराखेका छन् । 'मार्सी धानको बजारीकरण र प्रवर्द्धनको लागि कम्पनीले कोटा तोकेर खरिद गर्न थालेको छ,' शर्माले भने, ‘किसानले पनि त्यही अनुसारको मार्सी धान उपलब्ध गराउन सक्नु पर्‍यो ।’ खरिद विभागको मापदण्ड अनुसारको मार्सी धान नभेटिए खरिद गर्न नसकिने कम्पनीको जुम्ला शाखाले जनाएको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully