नेपाल बिमा प्राधिकरणमा अध्यक्षको आवेदन खुल्यो, १५ दिनको म्याद

पुस २६, २०८१

कान्तिपुर संवाददाता

The application of the Chairman in Nepal Insurance Authority is open, 15 days deadline

काठमाडौँ — बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरण अध्यक्षका लागि आवेदन खुलेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवप्रसाद अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले प्राधिकरण अध्यक्षका लागि शुक्रबार आवेदन आह्वान गरेको हो ।

अध्यक्षका लागि तोकिएको योग्यता पुगेको व्यक्तिले सूचना सार्वजनिक भएको १५ दिनभित्र आवेदन दिन समय तोकिएको छ ।

अध्यक्षको लागि बिमा, मौद्रिक, बैङ्किङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नाकोत्तर वा व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको, उच्च नैतिक चरित्र भएको, तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूर नलागेकोलगायतका योग्यता तोकिएको छ ।

खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी सिफारिस समितिले आवेदन खुलाएको हो । योग्य तथा इच्छुक उम्मेदवारहरुले आवश्यक कागजातसहित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखामा दरखास्त दिनुपर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालाई भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेपछि उनी स्वत: निलम्बनमा परेका छन् ।

त्यसै पनि सिलवालको कार्यकाल यही माघ १९ मा सकिँदै थियो । बिमा ऐनको व्यवस्थाअनुसार बिमा प्राधिकरणको अध्यक्ष पद खाली हुनुभन्दा एक महिनाअघि नै अध्यक्ष नियुक्त गर्नुपर्ने प्रावधान छ । यही कारण सरकारले अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेको हो । 

The application of the Chairman in Nepal Insurance Authority is open, 15 days deadline 

कान्तिपुर

Link copied successfully