चितवन — केसरी कुमाल अन्य दुई सहयोगीसहित बिहानै डोको बोकेर साइकलमा हुँकिइन् । रत्ननगर नगरपालिका–१६ की केसरीले २२ कट्ठा जग्गा भाडामा लिएर मकै खेती गरेकी छन् । उनको मकै छिप्पिन पाएको थिएन घोगा किन्ने व्यापारी घरमै आएर मोलमोलाइ गरे ।
मकै लिन पिकअप गाडी लिएर भण्डाराका व्यापारी रिमाल तमाङ झिसमिसेमै खेतमै पुगिसकेका कारण केसरी हतारिएकी थिइन् । हुस्सु लागेको थियो, शीतले खेतबारी छपक्कै थियो । शीतले नरुझाओस् भन्नका लागि प्लास्टिकको पातलो रेनकोट भिरेर केसरी र उनका साथी बारीमा मकै भाँच्न तम्सिए । मकै भाँच्न र घोगा डोकामा राख्न सहयोग गरिरहेका व्यापारी तमाङको फोन लगातार बज्न सुरु भइसकेको थियो । फोन उठाउनासाथ तमाङ भन्थे, ‘मकै लिएर चोकमा सात बजेभित्र जसरी पनि आइहाल्छु, अहिले खेतमा छु ।’
पुसको चिसो र ओसिलो बिहानीको झिसमिसेमै मकै किनबेचका लागि बारीमै भएको यो व्यस्तताले नै हरियो मकैको माग बजारमा कस्तो रहेछ, छर्लङ्ग हुन्छ । त्यसैले केसरीले जग्गा भाडामा लिएर मकै खेती गर्न तम्सिइन् । उनले यसरी घोगा बेच्न लागेको दुई वर्ष भयो । वर्षमा तीन पटकसम्म घोगा मकै बिक्री गर्न सकिन्छ । तर बर्खायाममा अलि गाह्रो हुने भएका कारणले दुई सिजन मकैका घोगा नै बिक्री गर्ने गरेको उनले बताए । ‘पानी परेका बेलामा मकै राम्रोसँग फस्टाउँदैन । यो सिजनमा पनि मकैलाई पानीले बिगार्लाझैं भएको थियो तर आयो,’ केसरीले भनिन् । उनले २२ कट्ठाको मकै १ लाख ९० हजार रुपैयाँमा बिक्री गरेकी हुन् ।
हरियो मकै कट्ठाको १० हजार रुपैयाँका दरले बिक्री हुने गरेको थियो । तर यो लट अलि सोचे जस्तो भएन भन्छिन् उनी । मकै किनेका व्यापारी तमाङ एक कट्ठामा आठ सयदेखि एक हजार वटासम्म घोगा हुने बताउँछन् । ‘हामीले पनि बढी बिक्री गरे एउटा घोगालाई उही १२/१५ रुपैयाँमा हो,’ रिमालले भने । भरतपुरस्थित कृषि विकास कार्यालयका अनुसार चितवनमा १७ हजार ११० हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । मकैको घोगा छिप्पएर बोटमै सुकेपछि भाँच्ने पुरानो चलन हो । घोगाबाट दाना अलग गरेर सुकाएपछि केही बेच्ने नभए घरमै पकाएर भुटेर खाने गरिन्थ्यो । पछि पशुपन्छीको दानाका लागि पनि मकै बेच्न सुरु भएको थियो ।
तर अहिले मकैको दाना छिप्पिए पुग्छ, बोटमा सुक्न पर्दैन । सहरका टोलटोल, चोकचोकमा बसेर पोलेको मकै बेच्नेहरु बढेका छन् । तरकारी जसरी ठेला या रिक्सा वा साइकलमा हरिया मकै राखेर घरघर बेच्दै हिड्नेहरु छपक्कै देखिन्छन् । कार्यालय प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत झलकनाथ कँडेलले चितवनको पुर्वी क्षेत्रमा रत्ननगर नगरपालिकाअन्तर्गतको पिठुवा, खैरहनी नगरपालिकाको राजमार्ग उत्तरको क्षेत्र र कालिकाको पदमपुर क्षेत्रमा हरिया मकै बिक्री बढी हुने बताए ।
त्यसैगरी भरतपुर महानगरपालिका–२३, २४ र २५ तथा २६ मा पनि केही मात्रामा घोगा मकै बिक्री हुन थालेको कृषि विकास कार्यालयको योजना, अध्ययन, परीक्षण तथा तथ्याङ्क शाखाका अधिकृत उमराज अर्यालले बताए । घोगा बेच्नेहरूले प्राय हाइब्रिड जातका मकै लगाउँछन् । ठूला र एकैनासका घोगा हुने हुँदा हाइब्रिड रोजाइमा परेको अर्यालको भनाइ छ ।
हरियै घोगा बेच्ने चलन नारायणगढनजिक रहेको नवलपरासीको गैंडाकोटमा अलि पुरानो हो । पछि यो चलन चितवन पनि भित्रियो । धादिङ गजुरीका हरिप्रसाद खतिवडा २०४९ सालमा बसाइ सरेर चितवन रत्ननगर नगरपालिका–१६ कुँवर टोलमा आएका थिए । यहाँ आएको तीन/चार वर्षपछि नै उनले मकैका हरिया घोगा बेच्न सुरु गरे । पछि उनले यसलाई व्यापक बनाउँदै लगे । ‘त्यस्तै ५२/५४ सालबाट हुनु पर्छ, मेरो खेतमा घोगा मकै खोज्दै मान्छेहरु आउँथे । एक घोगाको दुई रुपैयाँसम्म दिन्थे । यसरी मकै बेच्दा रोपाइँ खर्च जुटाउन मद्दत हुन्थ्यो,’ खतिवडाले भने । पछि उनले घोगा नै बेच्ने गरेर मकै लगाउन सुरु गरे । यसबाट सन्तोषजनक आम्दानी हुन थालेपछि उनले सात बिघामा मकै लगाए ।
‘म र साथी कमल थापा मिलेर सात बिघामा मकै लगायौं । वर्षमा तीन पटकसम्म घोगा बेच्न सकियो । सबै खर्च कटाएर वर्षको तीन लाख रुपैयाँसम्म आम्दानी भएको थियो,’ खतिवडाले भने । तर दुई वर्षयता हरियो मकैको बजार भाउ खस्कँदै गएको उनले बताए । चितवनमा पनि ठाउँठाउँमा घोगानै बेच्ने गरेर मकै खेती फस्टाएको छ । चितवनबाहिर पनि घोगा मकै पाउन सुरु भएको खतिवडाले बताए । ‘सर्लाहीतिर पनि मकै खेती फस्टाएको छ, उता सस्तो पाइन्छ भन्दै व्यापारीले मोलमोलाइ गर्छन् । व्यापारीले भनेको पूर्वको मूल्यमा मकै दिने हो भने त हामी घाटामा जान्छौं । हरियो घोगा मकै बेच्न खेती फैलिँदै गएको छ तर मूल्य खुम्चिन सुरु भएको छ,’ किसान खतिवडाले भने । स्थानीय बजारदेखि पोखरा, काठमाडौंसम्म घोगा मकै जान थालेपछि किसान उत्साहित थिए । तर मूल्य कम हुँदै जाँदा मर्का पर्ने डर सुरु भएको छ ।
