यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि

पुस २३, २०८१

विवेक पोख्रेल

3.30 percent fare hike on passenger vehicles

काठमाडौँ — सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाइएको हो । यात्रुवाहक र मालवाहक सवारीको भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

यात्रुवाहक सवारीसाधनमा साविकको भाडामा ३.३० प्रतिशत भाडा वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ०.८१ र तराईमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ०.०५ प्रतिशत भाडा वृद्धि गरिएको छ । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पुस ११ मा विभागलाई सहमतिसमेत दिएका थिए । त्यहीअनुसार विभागले भाडादरसहितको सूची सार्वजनिक गरेको हो । 

यसअघि २०८० साउन ३१ मा भाडा समायोजन गरिएको थियो । भाडा निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानी भाडा समायोजन गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

‘स्वचालित हिसाबले प्रत्येक चैत मसान्तमा भाडादर समायोजन गर्नुपर्ने हो,’ पोखरेलले भने, ‘समायोजन नभएको करिब दुई वर्ष हुन लागेको थियो, अहिले समायोजन गर्ने निर्णय भएको हो ।’ सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा बजारको अध्ययन तथा विश्लेषण सरोकारवाला निकायसँग छलफल गरेर समायोजन गर्ने निर्णयमा पुगिएको पोखरेलको भनाइ छ । 

‘श्रमिकहरूको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टीलगायत मुख्य सूचकमा भएको मूल्यवृद्धिलाई ध्यानमा राख्दै नयाँ भाडादर लागू गरिएको हो,’ विभागले जारी गरेको सूचनामा भनिएको छ । यातायात व्यवसायीहरूले भाडा समायोजनको माग राख्दै आएका थिए । नयाँ भाडादर सबै अन्तरप्रदेश, छोटो, मध्यम र लामो दूरीका सार्वजनिक यातायातका रुटमा लागू हुने सूचनमा उल्लेख छ । यसबाहेक तोकिएको भाडामा डिलक्स र सुपर डिलक्स सुविधा लिएका सार्वजनिक सवारीसाधनले कुल भाडामा २० प्रतिशतसम्म थप भाडा लिन सक्नेछन् । र, यसका लागि ब्लुबुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको विभागले जनाएको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully