पर्सा-बाराका उद्योगमा अघोषित लोडसेडिङ र ट्रिपिङ

पुस २१, २०८१

भूषण यादव

Unannounced loadshedding and tripping in Parsa-Baraka industry

वीरगन्ज — पर्सा–बारा औद्योगिक कोरिडोरमा सञ्चालनमा रहेका उद्योग पछिल्लो समय अघोषित लोडसेडिङ र ट्रिपिङको मारमा परेका छन् । विद्युत्को नियमित आपूर्ति नहुँदा कोरिडोरका उद्योग आफ्नो निश्चित क्षमताभन्दा धेरै कम क्षमतामा सञ्चालन भइरहेका छन् । 

बढ्दो विद्युत् कटौती र गुणस्तरीय विद्युत् अभावका कारण उद्योगहरूका उपकरण तथा कच्चा पदार्थ बिग्रिने गरेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । यसले उत्पादन प्रक्रियामा समेत नकारात्मक असर पारेको संघका अध्यक्ष अनिल अग्रवालले बताए । 

‘औद्योगिक कोरिडोरका उद्योहरूले विभिन्न समस्या खेपिरहेकै बेला विद्युत् कटौतीको समस्या झेल्नुपर्दा उद्योगहरू झन् मर्कामा परेका छन्,’ अध्यक्ष अग्रवालले भने, ‘उत्पादन त घटेकै छ । उद्योगका उपकरण र कच्चा पदार्थसमेत बिग्रिने गरेका छन् ।’ 

उद्योगीका अनुसार विद्युत् कटौतीका बेला जेनेरेटर (डीजी सेट) बाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागतसमेत बढेको छ । जसले गर्दा बजारमा उत्पादनले प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएका छन् । साना उद्योगहरूले विद्युत् कटौतीका बेला डीजी सेट सञ्चालन गर्न सक्ने अवस्था नभएकाले उद्योग नै बन्द राख्नुपर्ने अवस्था रहेको संघले जनाएको छ । 

यसैगरी औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा करिब १४/१५ पटकसम्म ट्रिपिङ भइरहेकाले औद्योगिक उपकरण बिग्रिने गरेका छन् । कच्चापदार्थसमेत नोक्सान भइरहेको छ । विद्युत् उद्योगका लागि कच्चापदार्थ जस्तै अत्यावश्यक रहेको संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए । पर्याप्त विद्युत् नहुँदा उत्पादन घट्दो छ, उत्पादन मूल्य बढेको छ,’ उनले भने, ‘कर्मचारी र कामदारलाई काममा समेत लगाउन सकिएको छैन ।’

 हिउँदमा मात्र नभई अन्य महिनामा समेत पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगले पर्याप्त बिजुली पाउन सकेका छैनन् । ‘ट्रान्समिसन लाइनको क्षमता विस्तार नहुँदा साउनमा समेत पर्याप्त विद्युत् आपूर्ति हुन सकेन,’ गौतमले भने, ‘औद्योगिक क्षेत्र विकास गर्ने नीति देखिएन ।’

आवश्यकता तीन सय ५० मेगावाटको भए पनि पुरानो ट्रान्समिसन लाइनको क्षमता अझै एक सय ७५ मेगावाटको मात्र रहेको गौतमले जनाए । हिउँदमा प्रत्येक वर्ष विद्युत् आपूर्तिमा समस्या आइरहेकाले यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत संघले गराएको छ ।

समस्या समाधानका लागि लोडसेडिङको निश्चित समयावधि नै तोकेर बाँकी समयमा गुणस्तरीय विद्युत् आपूर्ति गर्न संघले माग गरेको संघका अध्यक्ष अग्रवालले बताए । उद्योगहरूबाट खपत भएको विद्युत् महसुलको रकम जुन किसिमले नेपाल विद्युत् प्राधिकरणले असुल गर्छ, सोही किसिमको गुणस्तरीय विद्युत् आपूर्ति गर्नुपर्ने संघले माग गरेको अग्रवालले जनाए ।

‘पिक’ समयमा लोड नपुग्दा लाइन कट्ने समस्या रहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्जका प्रमुख अवधेश दुबेको भनाइ छ । बिहान र साँझ (पिक समय) घरेलु माग बढेका बेला कहिलेकाहीं ट्रिपिङको समस्या हुने गरेको उनले बताए । 

आपूर्तिको लोड नपुग्दा एलडीसी (लोड डिस्प्याच सेन्टर) ले बिजुली काट्छ । ‘पहिला भारतको रक्सौल हुँदै एक सय ५० मेघावाट बिजुली आपूर्ति हुन्थ्यो,’ प्राधिकरण वीरगन्जका प्रमुख दुबेले भने, ‘अहिले ठ्याप्पै विद्युत् भारतबाट आएको छैन, बर्खामा केही पावर प्लान्टमा क्षति पनि पुग्यो । जसले गर्दा विद्युत्को माग धान्न सकिएको छैन ।’

हिउँदमा खोलाको बहावमा पनि कमी आउने गर्छ । ‘साँझ र बिहान घरेलु माग बढेको समयमा औद्योगिक फिडरमा केही समस्या आउने गरेको छ,’ दुबेले भने ।

भूषण

Link copied successfully