प्रविधि प्रयोग गरी लपेस र टपरी

पुस २१, २०८१

ज्योती श्रेष्ठ

Techniques using lapis lazuli and toppery

काभ्रे — सालको पातलाई बाँसको सिन्काले उन्दै लपेसका लागि लाफा बनाइँदै छ । एकछेउमा तयार भएका लाफा लहरै सुकाइएको छ । सुकेको लाफालाई मेसिनमा राखिन्छ । मेसिनले आकार र साइजअनुसार कटिङ गरेपछि लपेस तयार हुन्छ ।

बनेपा नगरपालिका–७ मा रहेको सिर्जनशील महिला उद्योगमा परम्परागत सीपलाई प्रविधिको प्रयोग गर्दै महिलाहरूले दुना र टपरीको नयाँ स्वरूप दिइरहेका छन् । प्राविधिक ज्ञान लिएर बनेपाका ७ जना महिलाले अहिले दुना, टपरी, लपेस उत्पादन गरिरहेका छन् । 

प्रविधिको प्रयोग गरी दुना, टपरी बनाउने दुई वर्षअघिदेखिको योजना अहिले पूरा भएको सिर्जनशील महिला जागरण अभियानले सञ्चालनमा ल्याएको उद्योगकी अध्यक्ष रूपा खतिवडाले बताइन् । उद्योगमा अहिले ७ जना महिला प्रत्यक्ष रूपमा जोडिएका छन् ।

‘यो काम हेर्दा सामान्य देखिए पनि अन्तिमसम्म आइपुग्दा लामो विधि हुन्छ,’ उनले भनिन्, ‘सुरुमा स्थानीय महिलामार्फत सालको पात संकलन गर्छौं, अनि पातलाई बाँसको सिन्काले उनेर लाफा बनाएर ३ दिनसम्म हावामा सुकाएर राखिन्छ, सुकेको लाफालाई मेसिनमा राखेर तयार पारिन्छ ।’

मेसिनले आकार अनुसारको ‘कटिङ’ गरेपछि दुना, टपरी र लपेस तयार हुने खतिवडाले बताइन् । स्थानीयस्तरबाटै सालको पात र बाँसको सिन्का खरिद गरिन्छ । उद्योगले सिन्का प्रतिमुठा १ सय ५० र सालको पात प्रतिमुठा ८० देखि १ सय २० रुपैयाँसम्ममा किन्ने गर्छ । अध्यक्ष खतिवडाका अनुसार दुना, टपरी, लपेससम्बन्धी परम्परागत सीप भएकालाई यो काम अलि सहज छ ।

‘यो मेसिन चलाउँदा भने विशेष ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘मेसिनको तापक्रम मिलाउन जान्नुपर्छ, अहिले ६ वटा डाई (साइज र आकार मिलाउने उपकरण) राखेका छौं, जसबाट ६ आकारप्रकारका दुना, टपरी र लपेस बनाइन्छ, मेसिनमा दुना, टपरी राख्दा पनि होसियारी अपाउनुपर्छ ।’ 

Techniques using lapis lazuli and toppery

यसको व्यवस्थापनको पाटोमा पनि विशेष ध्यान दिनुपर्ने उद्योगकी व्यवस्थापक यशोदा बोगटीले बताइन् । ‘सालको पात सधैंभरि पाइँदैन, यसको सिजन भनेकै असारदेखि चैतसम्म मात्रै हो, पछिसम्मका लागि अहिले नै पात ल्याउनुपर्ने हुन्छ, अनि अर्को मुख्य चुनौती भनेको बजारीकरणमा हुन्छ,’ उनले भनिन्, ‘नेवार समुदायमा भोजमा लपेसको प्रयोग धेरै हुने भएकाले यसको माग बढी छ, अहिलेका लागि स्थानीय बजारमै राम्रो माग छ ।’

प्राविधिक सीप सिकेर उनीहरूले एक महिनाअघि उद्योगलाई सञ्चालनमा ल्याएका हुन् । उद्योग सञ्चालनका लागि उनीहरूले करिब १० लाख रुपैयाँ लगानी गरेका छन् । ‘मेसिनको मूल्य अलि बढी भएकाले पनि यसमा धेरै लगानी भएको छ,’ खतिवडाले भनिन्, ‘एउटा मेसिनकै करिब ६ लाख पर्ने रहेछ, कच्चा पदार्थ तथा अन्य सामग्री, उद्योग दर्ता सबै जोड्दा करिब १० लाख लगानी भएको छ ।’ 

उद्योगबाट अहिले दैनिक १२ सय दुना, टपरी, लपेस उत्पादन भइरहेका छन् । २५ वटा लपेस/टपरीको मूल्य २ सय छ भने सानो दुना ४० वटाको ६० रुपैयाँ र ठूलो दुनाको ८० रुपैयाँ तोकिएको छ । उनीहरूले सालको पात लगेर फुर्सदको समयमा घरमा पनि लाफा बनाउने गर्छन् ।

Techniques using lapis lazuli and toppery

‘घरधन्दा सकेर फुर्सदमा लाफा बनाउँछु,’ खतिवडाले भनिन्, ‘आफूसँगसँगै घरका परिवारले पनि सघाउनुहुन्छ, सबै मिलेर गर्दा रमाइलो पनि हुन्छ ।’ उनी आफूसँग भएको सीपमा आफूमा मात्रै सीमित राख्दिनन् । यो सीप सिक्न इच्छा राख्ने जोकोहीलाई पनि सिकाउँछिन् । ‘प्रविधिको प्रयोग गरी दुना, टपरी, लपेस बनाउन सिक्न चाहनुहुन्छ भने उद्योग मार्फत सिकाउनेछौं,’ उनले थपिन्, ‘योसम्बन्धी तालिम लिन चाहनेलाई पनि तालिमसमेत प्रदान गर्नेछौं ।’

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully