काठमाडौँ — बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल चुनिएका छन् । सिबिफिनको पाँचौं साधारणसभाले शुक्रबार सचिवबाहेक अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
यसअनुसार सिबिफिन कार्यसमितिका १७ मध्ये १६ जना सर्वसम्मत भएका हुन् । पौड्याल यसअघि पनि परिसंघका अध्यक्ष थिए ।
तर सचिव पदमा निर्वाचन भएको छ । उक्त पदका लागि भने साइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल र एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलबीच प्रतिस्पर्धा भएको थियो, जसमा साइनमा पौडेलले ३२ मत ल्याएर जित हासिल गरे भने गोयलले २३ मत प्राप्त गरे । कुल ७६ मतदाता रहेको परिसंघमा ५५ जनाले मतदान गरेका थिए ।
साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको हो, जसमा वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय दोहोरिएका छन् । उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत भएका हुन् ।
सर्वसम्मत भएका अन्य पदहरूमा कोषाध्यक्षमा एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल, सहकोषाध्यक्षमा गोरखा फाइनान्सका गौरव बुढाथोकी सर्वसम्मत भएका छन् ।
सदस्यहरूमा कुमारी बैंकका राजाराम खड्का, एभरेस्ट बैंकका बालगोपाल वैद्य, प्रभु बैंकका लीलाप्रकाश सिटौला, एनएमबी बैंकका मनोजकुमार गोयल, नेपाल बैंकका चन्द्रबहादुर अधिकारी, ग्लोबल आईएमई बैंकका राधेश पन्त, लक्ष्मी सनराइज बैंकका रमण नेपाल, कामना सेवा विकास बैंकका सुदीप आचार्य, लुम्बिनी विकास बैंकका चिन्तामणि भट्टराई र प्रोग्रेसिभ फाइनान्सका लक्ष्मीप्रसाद महर्जन सर्वसम्मत भएका हुन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
