अपर अरुण जलविद्युत् आयोजनाको ईआईए स्वीकृत 

पुस २१, २०८१

कान्तिपुर संवाददाता

EIA of Upper Arun Hydropower Project approved

काठमाडौँ — अपर अरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव अध्ययन (ईआईए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयले अपर अरुण आयोजनालाई प्राथमिकतामा राखेर पुस १९ गते ईआईए स्वीकृत गरेको जानकारी दिएको हो ।

संखुवासभाको भोटेखोलामा अवस्थित रहेको उक्त जलविद्युत् आयोजनाको कूल लागत २ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । अपर अरुणको कूल विद्युत् क्षमता १ हजार ६३ दशमलव ३६ मेगावाट रहेको छ । मुलुकको ऊर्जा क्षेत्रमा रुपान्तरणकारी आयोजनाका रुपमा रहेको यो आयोजना हालसम्मको दोस्रो ठूलो जलविद्युत् आयोजना हो । 

मन्त्रालयले यस आयोजनाका लागि २१ दशमलव शून्य ८४ हेक्टर जमिन क्षेत्रफल प्रयोग गर्न दिने निर्णय मन्त्रिपरिषद्बाट पारित गरिसकेको छ । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले विकास निर्माणका कुनै पनि आयोजनामा कानुनी अल्झन भए तत्काल समाधान गर्न निर्देशन दिँदै आइरहेका छन् ।

सोहीअनुसार मन्त्रालयले विकास आयोजना, राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका फाइललाई प्राथमकितामा राखेर काम अघि बढाइरहेको जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully