चितवन — पेट्रोल, डिजेल बिक्री गर्ने पेट्रोल पम्प सञ्चालकहरूको संस्था चितवन पेट्रोलियम डिलर्स एसोसिएसनको नेतृत्वमा पहिले पटक महिला पुगेकी छन् । शनिबार सम्पन्न एसोसिएसनको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले शर्मिला सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । सेढाई यसअघि उपाध्यक्ष थिइन् ।
चितवन पेट्रोलियम डिलर्स एसोसिएसन २०५१ सालमा स्थापना भएको हो । नेपाल आयल निगम खुल्नुभन्दा पहिला नै चितवनमा पेट्रोल पम्प खुलेको इतिहास छ । एसोसिएसनका चितवन जिल्ला पूर्वअध्यक्ष हरिशरण पाठकले भरतपुरमा इन्डियन आयलको डिलरका रूपमा २०२४ सालमै पेट्रोल पम्प खुलेको बताए । नेपाल आयल निगम २०२७ सालमा स्थापना भएको हो ।
अध्यक्ष सेढाईंको २०४७ सालमा भरतपुर गोन्द्राङमा खुलेको पेट्रोल पम्प छ । ०५४ सालदेखि चितवन कुरिनटारमा अर्को पेट्रोल पम्प सञ्चालन गरेको सेढाईंले बताइन् । उनी निर्विरोध निर्वाचित भएकी हुन् । अधिवेशनले शिवकान्त ओलीलाई उपाध्यक्ष र नारायणप्रसाद न्यौपानेलाई महासचिव चयन गरेको छ ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको चितवन शाखामा चितवन र दाउन्ने पूर्वको नवलपुर क्षेत्रका ७५ जना व्यवसायीहरू आबद्ध छन् । निगमको बारा अमलेखगञ्ज डिपोबाट यो क्षेत्रमा दैनिक २६४ केएल (किलो लिटर/हजार लिटर बराबर एक केएल) डिजेल र ९० केएल पेट्रोल आपुर्ती हुने गरेको अधिवेशनमा जानकारी गराइयो ।
