कर्णाली प्रदेशमा औद्योगिक क्षेत्रको उत्पादन क्षमता क्रमशः घट्दो

पुस १७, २०८१

कान्तिपुर संवाददाता

The production capacity of the industrial sector in Karnali province is gradually decreasing

काठमाडौँ — गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा सञ्चालनमा रहेको उद्योगहरू ४८.५१ प्रतिशत क्षमता उपयोगमा चलेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योगको क्षमता उपयोग घटेको हो ।  अघिल्लो आर्थिक वर्षमा उद्योगहरूको यस्तो क्षमता उपयोग ५२.२९ प्रतिशत थियो ।

प्रतिवेदनका अनुसार गत आर्थिक वर्षमा उद्योगहरूको उपयोग क्षमतामा प्लास्टिकका सामानसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको थियो । सोही अवधिमा सबैभन्दा कम अन्न तथा पशुदानाअन्तर्गत पिठो उत्पादनसम्बन्धी उद्योगको उपयोग क्षमता १५ प्रतिशत रहेको प्रतिवेदनले औंल्याएको छ  ।

त्यसैगरी, कागज उत्पादन ९, काठ तथा काठको सामानको ५३, अन्य खाद्य पदार्थ (प्रशोधित चिया) ५१.११, अन्य (अन्य लत्ताकपडा) ४८.९४ र पशुदाना उत्पादन गर्ने उद्योगहरूअन्तर्गत चामल उत्पादनसम्बन्धी उद्योग ४१.६७, प्रशोधित दूध उत्पादनसम्बन्धी उद्योगको २१.२३ र पशुदानासम्बन्धी उद्योगको उपयोग क्षमता १६.६७ प्रतिशत रहेको छ । 

यस प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव तथा विकट भौगोलिक बनावटजस्ता प्रमुख कारणहरूले गर्दा ठूला उद्योगहरू सञ्चालन हुन सकेको देखिँदैन ।

घरेलु, साना तथा मझौला उद्योगहरूमध्येबाट केही उद्योगहरू अध्ययनमा नमुना छनोटका रूपमा लिइएको छ । समीक्षा वर्षमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरूमध्ये अधिकांश उद्योगको उत्पादनमा वृद्धि आएको देखिन्छ भने प्रशोधित चिया र प्लास्टिकका समान उत्पादनमा कुनै पनि परिवर्तन भएको छैन ।

त्यसैगरी, चिरेको काठ उत्पादनमा कमी आएको देखिन्छ । प्रशोधित दुध उत्पादनमा ३.३३ प्रतिशतले वृद्धि भएको देखिन्छ । अन्न तथा पशु दाना उत्पादन गर्ने उद्योगहरूअन्तर्गत चामल, गहुँको पिठो र पशुदाना उत्पादन क्रमशः ६६.६७ प्रतिशत, २८.५७ प्रतिशत र १५.३८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, समीक्षा वर्षमा लत्ता कपडा शीर्षकअन्तर्गत अन्य लत्ताकपडा शीर्षक र कागज तथा कागजका उत्पादनमा क्रमशः १५.० प्रतिशत र १२.५० प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा काठ तथा काठका सामान शीर्षकअन्तर्गत चिरेको काठको उत्पादनमा १३.३३ प्रतिशतले कमी आएको छ ।

त्यसैगरी, प्लास्टिक उत्पादन शीर्षकअन्तर्गत प्लास्टिकजन्य सामानको उत्पादनमा र प्रशोधित चियाको उत्पादनमा भने कुनै परिवर्तन आएको छैन ।

कान्तिपुर

Link copied successfully