काठमाडौँ — संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन भएका छन् । काठमाडौंमा भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षको लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।
केन्द्रको महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको छ । महिला समितिको सचिवमा सरिता घिसिङ चयन भएकी छन्। जेटियुसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासंघ आवद्ध छन् ।
हरेक एक/एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन् । जेटियुसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिमखडाले जेटियुसिसीको अध्यक्ष बन्नु चुनौतीको रुपमा लिएको बताए ।
उनले नेपालको ट्रेड युनियन आन्दोलन अफ्ठ्यारो अवस्थामा रहेको भन्दै संविधानमा श्रमिकका विषयलाई सम्बोधन भएपनि श्रमिकको हितमा कानूनहरु बन्न नसकेको बताए। अध्यक्ष सिम्खडाले उल्टो बाटोमा हिँड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्ने बताए ।
