टीओडी मिटर अध्ययन समितिलाई सुविधा दिने प्रस्तावमा घिसिङको ‘नोट अफ डिसेन्ट’

अरविन्दकुमार मिश्र संयोजकत्वको समितिलाई तलबभत्ता, कार्यालय सञ्चालन सामग्रीदेखि सवारीसाधनसम्म प्राधिकरणले बेहोर्नुपर्ने प्रस्तावमा घिसिङको असहमति

पुस १७, २०८१

कान्तिपुर संवाददाता

Ghising's 'Note of Dissent' on the proposal to facilitate the TOD Meter Study Committee

काठमाडौँ — ऊर्जा मन्त्रालयले गठन गरेको अरविन्दकुमार मिश्र संयोजकत्वको समितिलाई सेवासुविधा उपलब्ध गराउने प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । सञ्चालक समितिका सदस्य सचिवसमेत रहेका घिसिङले यही पुस ४ को बैठकमा छलफल भएको उक्त प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।

मिश्र संयोजकत्वको समिति डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटर अध्ययन गर्न गठन गरिएको हो । तर, प्राधिकरणले अदालत वा विद्युत् नियमन आयोगमार्फत यस्तो समिति गठन हुनुपर्ने अडान लिँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भने समितिको तलबभत्ता, कार्यालय सञ्चालन सामग्रीदेखि सवारीसाधनसम्म प्राधिकरणले बेहोर्नुपर्ने जनाउँदै आएका छन् ।

त्यसका लागि मन्त्रालयले समितिलाई आवश्यक तथ्यांकदेखि सेवासुविधासमेत उपलब्ध गराउन भन्दै प्राधिकरणलाई पत्र काटेको थियो । तर प्राधिकरणले समितिलाई अवैध बताउँदै तलबभत्तादेखि तथ्यांक उपलब्ध नगराउने जानकारी गराएको थियो । 

यसबीच, पुस ३ मा नियुक्त भएका बोर्डका नयाँ सदस्यद्वय बलबहादुर पराजुली र लक्ष्मण केसीको स्वागतका लागि ४ गते बैठक राखिएको थियो । तर, मन्त्री खड्काले समितिका सदस्यलाई सेवासुविधादेखि तथ्यांक उपलब्ध गराउनुपर्ने भन्दै प्रस्ताव राखेका थिए । प्रस्तावमाथि छलफल भए पनि पारित हुन सकेन । 

मन्त्री खड्का ऊर्जा सचिव सुरेश आचार्यसहित सोही प्रस्तावमा हस्ताक्षर गर्न/गराउन मंगलबार साढे १ बजेतिर प्राधिकरण पुगेका थिए । उनीहरूले हस्ताक्षर गरे पनि घिसिङले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् । ‘कुलमानजीले नोट अफ डिसेन्ट लेख्नुभयो, अरू बहुसंख्यक सदस्यले माइन्युटमा हस्ताक्षर गरिसके, मैले पनि गरें,’ ऊर्जा सचिव आचार्यले भने । 

प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेका मन्त्री खड्का, सदस्यहरू ऊर्जा सचिव आचार्य, पराजुली र केसीले हस्ताक्षर गरेका छन् । समिति सदस्य रहेका राजस्व सचिव दिनेशकुमार घिमिरे बैठकमा अनुपस्थित थिए । अन्य सदस्यहरू भरतराज आचार्य, रतनबहादुर ऐरले पनि हस्ताक्षर गरेका छैनन् । ‘ऐर मंगलबार प्राधिकरणमै उपस्थित थिए, तर हस्ताक्षर गरेनन् । ऐर र आचार्यले अनौपचारिक रूपमा कुलमानलाई नै समर्थन गरेको देखिन्छ,’ समितिका एक सदस्यले भने, ‘कार्यान्वयन गर्ने सदस्य सचिवले नै फरक मत राखेपछि के हुन्छ भन्ने प्रश्न उठेको छ ।’

ऊर्जा मन्त्रालयले अवैध रूपमा समिति बनाएर प्राधिकरणबाट वैधता दिन खोजेको प्राधिकरण सञ्चालक समितिका एक सदस्यले आरोप लगाए । ‘अवैध समितिलाई प्राधिकरणले किन खर्च गर्ने ?’ उनले भने । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा मन्त्री खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच मत बाझिँदै आएको छ । मन्त्री खड्काले घिसिङलाई मन्त्रिस्तरीय निर्णय गरेर १५ बुँदे र सचिवस्तरीय निर्णय गरेर ६ बुँदे स्पष्टीकरण पनि सोधिसकेका छन् । उनले प्राधिकरणमै आफ्नो कार्यालयसमेत खोलेका छन् ।

मिश्र संयोजकत्वको समिति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदनसमेत दायर भएको छ । अधिवक्ता खडानन्द कँडेलले गत मंसिर १३ मा ऊर्जा मन्त्रालय, मन्त्री र समितिका संयोजक लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलाशले मंसिर १४ मा कारण देखाउ आदेश जारी गरेको थियो । मंसिर २५ मा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले यो रिटलाई अग्राधिकार दिए पनि त्यसयता हेर्न नभ्याइनेमा पर्दा पेसी सर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully