चालु आर्थिक वर्षका लागि ५५ करोड बजेट माग गरिए पनि नपाएपछि भएन मर्मत
बगुवा, ललितपुर — काठमाडौं–हेटौंडा जोड्ने पुरानो सडकमध्ये एक हो, कान्ति राजमार्ग । अहिले यस राजमार्गको अवस्था दयनीय छ । जसोतसो सवारीसाधन गुडेका छन् । जता हेर्यो, उतै पहिरो छ । कतै पहिरोले सडक नै लगेको छ । जोखिम र त्रासबीच यो खण्ड भएर मालवाहक, यात्रुवाहक र निजी सवारी साधन ओहोरदोहोर गरिरहेका छन् ।
दुग्धपदार्थ बोकेका ट्यांकर, कुखुरा र तरकारी बोकेका गाडी पनि यही मार्ग हुँदै राजधानी भित्रिन्छन् । यो दुई लेनको सडक हो । पहाड कटिङ गर्न नसकेको खण्डसहित करिब दुई किलोमिटर सडक अहिले पनि एक लेन नै छ ।
नेपाली सेनाको अगुवाइमा २०१३ सालमा सुरु गरी २०१६ सालमा ट्र्याक खोलिएको यो सडकको दूरी ६५ किलोमिटर छ । अहिले ललितपुरतर्फ मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । पहिरोले गर्दा सडक साँघुरिएको छ । सडकमाथिको पहिरो पनि अझै पन्छाइसकिएको छैन । जसोतसो पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको छ ।
मकवानपुरतर्फ सबैभन्दा बढी पहिरो बकैया गाउँपालिका क्षेत्रभित्रको खण्डमा खसेको छ, जहाँ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर सडकलाई केही सहज बनाइएको छ । यो हेटौंडाबाट काठमाडौं आउजाउ गर्न सबैभन्दा सजिलो मार्ग भए पनि सुधारमा सरकारले बेवास्ता गरेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने बताउँछन् ।
‘पटक–पटक सडक विभाग र मन्त्रालयलाई सडक सुधार गर्नभन्दा बजेट छैन भन्ने जवाफ आउँछ,’ लामिछानेले भने, ‘गत असोजमा आएको बाढीले बीपी राजमार्ग बगाउँदा पूर्व जाने सवारीसाधन यही मार्ग भएर गुडेका थिए ।’
तर यही सडकमा हेलचेक्र्याइँ गरिएको उनको गुनासो छ । ‘काठमाडौंबाट हेटौंडा तीन घण्टादेखि साढे तीन घण्टामा पुगिन्छ, यो मार्गले मकवानपुरको बकैया, भीमफेदी र मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका छुन्छ ।’
गत असोजमा आएको बाढीले यही सडकमा बढी क्षति पुर्याएको थियो । चालु आर्थिक वर्षमा बहुवर्षीय ठेक्काको प्रक्रिया अगाडि बढाउँदै गर्दा असोजमा आएको बाढीले ठूलो क्षति पुर्याएको कान्ति राजमार्ग सडक योजना कार्यालयको प्रमुख रत्नलक्ष्मी बज्राचार्यले बताइन् । ‘बाढीपहिरो जानुअघि ललितपुर र मकवानपुरमा गरेर ४ किमि क्षेत्रमा कालोपत्र गर्न बाँकी थियो,’ उनले भने, ‘यहीबीचमा आएको बाढीपहिरोले क्षति पुर्याउँदा थप प्रगति हुन सकेन ।’
सडक पुनःस्थापनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग बजेट माग गरेर पठाए पनि अझै बजेट नपाएको बज्राचार्यको भनाइ छ । ‘यस वर्षका लागि करिब ५५ करोड मागेका थियौं, अहिलेसम्म आएको छैन,’ उनले भनिन्, ‘पूरै सडक पुनःस्थापना गर्न दुई अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ ।’
रकम मागको विषय भौतिक मन्त्रालयबाट अर्थ पुगेको जानकारी आएको बज्राचार्यले सुनाइन् । ‘अर्थबाट गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाटै आउनुपर्ने भनेर फाइल फिर्ता गरिएको बुझिएको छ,’ उनले भनिन्, ‘तर सबै कुरा बजेट व्यवस्थापनमै अड्किएको छ, थप काम हुन सकेको छैन ।’
नियमित प्रक्रियाअन्तर्गत बहुवर्षीय ठेक्काको सहमति अर्थबाट पाए पुस मसान्तभित्र ठेक्का प्रक्रिया अघि बढाइने बज्राचार्यले जनाइन् । ‘ललितपुरको टीकाभैरवबाट तीनपानेसम्म धेरै नै सडक बिग्रिएको छ, यस कार्यालयबाट अध्ययन भएको छ, प्रतिवेदन आइसकेको छैन,’ उनले भनिन्, ‘पुस अन्तिमसम्म आइसक्छ । माघ दोस्रो सातासम्म ठेक्का प्रक्रिया सुरु गरी चैत पहिलो साताभित्र निर्माण सुरु गर्ने योजना छ ।’ सडक सुधारभन्दा पनि बगुवा पुलमा कसरी काम गर्ने भन्ने विषयमा टुंगो लागिनसकेको उनको भनाइ छ ।
बाढीले पुल बगाएको थियो । अहिले खोला तर्काएर बेलिब्रिज राखिएको छ । यही ठाउँमा पुल निर्माणको ठेक्का भइसकेको छ । ‘अहिले चालु रहेको पुलभन्दा तीन मिटर तल पक्की पुलको ठेक्का भएर काम हुँदै थियो, बाढीले त्यसमा पनि क्षति गर्यो,’ बज्राचार्यले भनिन्, ‘अहिले पहिलाको डिजाइन पुनर्विचार गरेर काम गर्दै छौं ।’
बजेट अभावमा पुल बन्न नसक्ने अवस्था आए माघभित्रै बेलिब्रिजको ठेक्का गरेर काम अघि बढाइने बज्राचार्यको भनाइ छ । ‘मकवानपुरतर्फ पहिरो सफा गरेपछि सडक बिग्रिएन, ललितपुर खण्डमा सडक पहिरोले सडक नै लगेको छ,’ उनले भनिन्, ‘चार किमिभन्दा बढी सडकमा यस्तो समस्या छ ।’ बजेट उपलब्ध गराउन मन्त्रालय लागिरहेको भौतिक सचिव केशवकुमार शर्माले जनाए ।
‘यो सडक आवश्यक छ,’ उनले भने, ‘त्यहीअनुसार मर्मतसम्भार गर्छौं ।’ ललितपुरको सातदोबाटोबाट हेटौंडाको बुद्धचोकसम्मको दूरी ९१ किमि छ । चापागाउँ खण्डमा भने यो सडक साँघुरो भएकाले दैनिक ट्राफिक जामको समस्या हुने गरेको छ ।
२०५५ सालमा वाग्मती नदीमा पुल बनेपछि हेटौंडाबाट बगुवासम्म र ललितपुरबाट भट्टेडाँडा हुँदै सडक जोडिएको पूर्वसचिव अर्जुनजंग थापाले बताए । ‘यस राजमार्गको काल्चेभीर, ठिंगनमा पहिरोको जोखिम बढी छ, बेला–बेलामा ठूलो पहिरो खस्ने गरेको छ, बगुवामा एक लेन पुल छ, २० मिटर असोजको बाढीले बगायो,’ उनले भने, ‘त्यसैले पहिलाको हिसाबमा यो आवश्यक सडक हो, ललितपुरको दक्षिणी भेगलाई सहज गरेको छ, विशेषरी दूध, तरकारीलगायत उत्पादित कृषि फसललाई छिटो बजार पुर्याउन सघाएको छ ।’
काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सञ्चालनमा आएपछि भने यसको महत्त्व घट्ने थापाको भनाइछ । उक्त राजमार्गले संघीय राजधानी काठमाडौं र वाग्मती प्रदेश राजधानी हेटौंडा जोडेको छ ।
