त्रिशूली किनार रोज्दै रिसोर्ट

चितवनमा नारायणीतर्फ अझै पनि ठूला होटल–रिसोर्ट छैनन्, त्रिशूली नदी किनारमा भने पर्यटन व्यवसायी आकर्षित 

पुस १५, २०८१

रमेशकुमार पौडेल

Choosing Trishuli Beach Resort

चितवन — राष्ट्रिय निकुञ्ज आड हुँदै बग्ने चितवनको राप्ती किनारमा पर्यटकीय होटल छपक्कै खुल्दा ठूला नदी नारायणी र त्रिशूली किनारमा चहलपहल शून्य थियो । नारायणी नदीको चितवनतर्फ अझै पनि ठूला होटल–रिसोर्ट छैनन् । त्रिशूली नदी किनारमा भने पर्यटन व्यवसायी आकर्षित भएका छन् ।

भरतपुर महानगरपालिकाको त्रिशूली किनारमा केही वर्षयता पर्यटकीय रिसोर्ट लगातार खुलिरहेका छन् ।

नारायणगढ–मुग्लिन सडकको भतेरीमा गएको वैशाखदेखि पर्यटकीय रिसोर्ट सञ्चालनमा आएको छ, जसको पश्चिमतर्फ आडैमा हरियाली जंगल, उत्तर सिमानामा सुसाइरहेको त्रिशूली नदी छ । भतेरीभन्दा पूर्व केही पर जुगेडीमा १२ वर्षअघि नै त्रिशूली किनारसँगै जोडिएर पर्यटकीय होटल प्रेसिडेन्सी सञ्चालनमा आएको थियो । जुगेडीमै अशोका होटल सञ्चालनमा छ । भतेरी पश्चिम त्रिशूलीकै किनारमा छ ठिमुरा रिसोर्ट । 

ठिमुरा भरतपुर महानगरपालिका–१ मा र भतेरी जुगेडी–२९ मा परे पनि यी ठाउँ त्रिशूली किनारका एकै लहरमा छन् । नदी किनारमा मात्रै नभएर नारायणगढ–मुग्लिन सडकदेखि दक्षिण भरतपुर–२९ कै पहाडी थुम्कोमा कविलास रिसोर्ट सञ्चालनमा छ । जुगेडी बजारमा यात्रुले खाना खान बस रोकिने होटल प्रशस्त छन् । तर पछिल्लो समय ठिमुरा, भतेरी र जुगेडी क्षेत्र पर्यटकीय होटलका पनि नयाँ हब बन्दै छन् । 

‘आडैमा जंगल छ, त्रिशूली नदी किनारको मनोरम दृश्य छ । अगाडि पश्चिम–उत्तर क्षितिजतर्फ हेर्दा पहाडको सात लेयर (तह) देखिन्छ । यस्तो ठाउँमा राम्रै सम्भावना देखेर आएका हौं,’ भतेरीमा सञ्चालनमा आएको रिसोर्टका सञ्चालक कल्याण जोशीले भने । रिभर ब्याङ्क पार्क एन्ड रिसोर्ट प्रालिले यो होटल बनाएको हो । जोशी यो कम्पनीका अध्यक्ष हुन् । सो होटल अहिले भारतीय कम्पनीको व्यवस्थापनमा सञ्चालित छ ।

भारतीय कम्पनी रोयल अर्किड होटल्स ग्रुपको ब्रान्ड ‘रिजेन्टा रिसोर्ट’ ले होटलको व्यवस्थापन सम्हालेको छ । ५० जना साझेदारले ६० करोड रुपैयाँ जुटाएर निर्माण गरेको रिसोर्ट पाँच बिघा जमिनमा फैलिएको छ । रिसोर्टमा आफ्नै छुट्टाछुट्टै स्वीमिङ पुल भएका दुई वटा सुइट रुम छन् । कुल ५१ कोठा भएको होटलमा १०२ वटा बेड छन् । त्रिशूली किनारतर्फ अलग्गै ठूलो स्विमुङ पुल पनि छ ।

‘एकान्त रुचाउने र प्राकृतिक दृश्यमा रमाउनेहरू यहाँ आउँछन्,’ जोशीले भने । भारतीय कम्पनीले व्यवस्थापन सम्हालेपछि यहाँ आउनेमा भारतीयहरूको संख्या बढ्दो छ । भारतीय कम्पनीका ‘डिलर मिट (मिटिङ)’ हुँदा समूह–समूहमा भारतीय आउने गरेको जोशीले सुनाए । १२ वर्षअघि २० करोड रुपैयाँ लगानी गरेर होटल प्रेसिडेन्सी खोलेका सञ्चालक प्रकाशध्वज अधिकारी पछिल्लो समय व्यवसाय सन्तोषजनक नभएको बताउँछन् । 

‘यो ठाउँमा सम्भावना देखेर नै १६ करोड रुपैयाँ ऋण लिएर होटल खोलेका हौं । तर पछिल्लो समय अवस्था सन्तोषजनक छैन,’ अधिकारीले भने । चिकित्सक पेसामा रहेका डा. प्रमोद लामिछानेले ३० करोड रुपैयाँ लगानी गरेर अढाई वर्षअघि ठिमुरा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । ‘होटल क्षेत्रमा अनुभव पनि थिएन, अर्कोतर्फ देशको आर्थिक अवस्था पनि प्रतिकूल छ । त्यसैले सोचेअनुरूप अलि छैन,’ डा. लामिछानेले भने ।

यस क्षेत्रमा बरन्डाभार जंगल पर्दछ । बरन्डाभार जंगल चितवन निकुञ्जलाई चुरे र महाभारत पर्वत शृंखलासँग जोड्ने मार्ग हो । त्यसैले यहाँ दुर्लभ वन्यजन्तु गैंडा, बाघ ओहोरदोहोर गर्छर्न् । ठिमुरा रिसोर्ट बन्दै गर्दा गेटमा गैंडा नै आएको लामिछाने बताउँछन् । बरन्डाभार जंगल क्षेत्रमा सतनचुली र जलदेवी सामुदायिक वन छन् । यी सामुदायिक वन क्षेत्रमा जिप सफारी या पदयात्रा गर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । 

‘यहाँका हरेकखाले सम्भावनालाई उजागार गर्दै जानुपर्छ । निकुञ्ज क्षेत्रमा जस्तै जंगल सफारी पनि गर्न मिल्ने ठाउँ यहाँ छन् । भारतका सीमावर्ती क्षेत्रबाट बिहेका लागि यहाँ आएका छन् । यसलाई वेडिङ डेस्टिनेसन पनि बनाउन सकिन्छ,’ जोशीले भने । तर पर्यटक बोकेका भारतीय गाडी आउँदा सीमा नाकामा सहज र छरितो तरिकाले जाँच हुनुपर्ने उनले बताए । अहिले त्यस्तो नहुने गरेको उनको भनाइ छ । 

‘भारत बिहारको पटनाबाट तीन–चार घण्टा लगाएर एउटा ग्रुप वीरगन्ज रक्सौल नाका आउँछ । त्यहाँ नै जाँचका लागि भनेर थप डेढ–दुई घण्टा र अझ त्योभन्दा पनि बढी समय रोक्यो भन्ने गुनासो आइरहेको छ,’ जोशीले भने । सडकसँगै हवाई सेवाको दुरवस्था अर्को गम्भीर चुनौती रहेको उनले जनाए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully