काठमाडौँ — कुनै संस्थासँग स्वतन्त्र रूपले आबद्ध व्यवसायी (फ्रिलान्सर) हरूका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको सूचना प्रविधि क्षेत्रका व्यवसायीहरूले औंल्याएका छन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले आयोजना गरेको कार्यक्रममा सूचना प्रविधिको अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बढ्दो सक्रियताका थप अवसरहरू खोज्ने र नविनतम प्रविधिलाई दिगो बनाउने उपायबारे सरोकारवालाहरूले धारणा राखेका थिए ।
‘नेपाल इन द ग्लोबल आईटी एरेना’ विषयक छलफलमा ईकागजपत्र प्रालिका निकेश सिंह, आईएमएस सफ्टवेयरका सन्तोष ताम्राकार, त्रिलोक्य प्रालिका राजेश तण्डुकार र अल्पस टेक्नोलोजीका युजेश मलेकुले विचार व्यक्त गरेका थिए । एपिक्टाको वित्तीय संयोजक अनिश श्रेष्ठ मध्यस्थकर्ता रहेको छलफलमा वक्ताहरूले ग्राहकरूको विश्वास बढाउन र व्यवसायको शैलीमा सुधार ल्याउन अन्तराष्ट्रिय बजारमा न्यूनतम सम्भाव्य वस्तु (मिनिमम भायबल प्रोडक्ट) को परीक्षणको महत्वमा जोड दिएका थिए ।
वक्ताहरूले बलियो सरकारी सहयोग, बौद्धिक सम्पत्तिसम्बन्धी स्पष्ट कानुनी व्यवस्था, फ्रिलान्सरहरूबारे स्पष्ट नियमन र उपत्यकाबाहिरका विद्यार्थीहरूका लागि वित्तीय सहयोगको आवश्यकता औंल्याएका थिए । उनीहरूले शिक्षामार्फत नवप्रवर्तनलाई प्रोत्साहन गर्न, ‘थिंक लोकल, एक्ट ग्लोबल’ रणनीतिमा अवलम्बन गर्न र कम्पनीहरूबीचको सहकार्यलाई प्रवर्द्धन गर्न सुझाव पनि दिए ।
कार्यक्रममा ब्रुनइमा हालै सम्पन्न एसिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड २०२४ का सहभागीहरू भेला भएका थिए । नास-आईटीका अध्यक्ष सन्तोष कोइरालाले सामुहिक पहलबाट नवप्रवर्तन प्रवर्द्धन, विश्वव्यापी प्रतिस्पर्धा र सशक्त्त टेक इकोसिस्टम निर्माणमा जोड दिएका थिए ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले नवप्रवर्तन र आर्थिक विकासका लागि सरकारको सहयोग, अन्तर्राष्ट्रिय सहकार्य, एपिक्टा अवार्डजस्ता प्लाटफर्महरू महत्वपूर्ण हुने धारणा राखे ।
