भैरहवामा नौ सय मिटर भिजिबिलिटीमै जहाज अवतरण

– माघ १० देखि स्याटलाइटमा आधारित आरएनपी–एआर प्रणालीबाट जहाज अवतरण गर्ने

पुस १३, २०८१

सुरज कुँवर, सन्जु पौडेल

The ship landed in Bhairahawa with a visibility of 900 meters

लुम्बिनी — जहाजलाई अवतरणमा सुरक्षित बनाउन भूसतहबाट मार्गनिर्देश गर्ने रेडियो नेभिगेसन प्रणाली (आईएलएस) सञ्चालनमा भारतको अवरोध कायमै रहेपछि भैरहवामा यो प्रणालीभन्दा उन्नत मानिने भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागू हुने भएको छ ।

हिउँदयामका तीन महिना (मंसिर/पुस/माघ) मा हुस्सु/तुवाँलोका कारण भिजिबिलिटी घट्ने समस्याले अन्तर्राष्ट्रिय उडान स्थगन हुने समस्या तीन वर्षयता तारन्तर देखिएपछि नेपालले भारतलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक तहदेखि प्रधानमन्त्री तहबाट समेत अनुरोध गर्दा पनि इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनमा भारतले समर्थन नगर्दा नेपालले जहाजलाई अवतरणका क्रममा मार्गनिर्देश गर्ने स्याटलाइटमा आधारित आरएनपी–एआर (रिक्वाइर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वाइर्ड) प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

भैरहवामा माघ १० देखि स्याटलाइटमा आधारित आरएनपी–एआर प्रणालीबाट जहाज अवतरण गर्नेछन् । चितवन पूर्वतर्फ पस्ने जहाजलाई २२ सय मिटर न्यूनतम भिजिबिलिटी हुनुपर्ने नियम अब ९ सय मिटरमा झरेको छ । ‘अब खराब मौसममा ९ सय मिटरसम्मको भिजिबिलिटीमा जहाज अवतरण गराउन सकिनेछ,’ प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले शुक्रबार राजधानीमा आयोजना गरेको एभिएसन मिटमा भने, ‘भैरहवामा अब खराब मौसमका कारण उडान भएन भन्ने समस्या हट्ने भएको छ ।’

यो प्रणाली यस पटक नेपाली प्राविधिकहरूले डिजाइन गरेका हुन् । यसको नेतृत्व प्राधिकरणका उपनिर्देशक राजेन्द्रसिंह नायकले गरेका थिए । प्राधिकरणले २०८० असारमा फ्रान्सको सिभिल एभिएसन अथोरिटीसँग प्राविधिक सहायता र हवाई सुरक्षा अभिवृद्धिमा सघाउने चार वर्षको सम्झौता गरेको थियो ।

‘जहाज अवतरण गराउने प्रणालीबारे यसअघि नेपालसँग प्राविधिक ज्ञान थिएन । पोखरामा चिनियाँले र काठमाडौंमा कतार एयरवेजसँगको सहकार्यमा एयरबसले एप्रोच प्रणालीको प्रोसिजर डिजाइन गरेका थिए,’ महानिर्देशक अधिकारीले भने, ‘पहिलोपटक नेपाली प्राविधिकले आरएनपीएआर प्रणाली डिजाइन गरेका छन् । यसलाई प्राधिकरणले अन्तर्राष्ट्रिय नियमअनुसार मंसिर २७ मा उड्डयनसँग सरोकार राख्नेहरूको विधिवत् जानकारीका लागि एआईपीमा प्रकाशन गरेका छौं ।’

ग्राउन्डबेसभन्दा स्याटलाइटमा आधारित जहाज अवतरण गराउने प्रविधिमा धेरै देश गइसकेको अधिकारीको भनाइ छ । भैरहवामा आरएनपीएअनर जडानले स्टेटको नेगोसिएसन पावर बढाएको उनले जनाए ।

एटीसीसमेत रहेका उपनिर्देशक राजेन्द्र सिंह नायकका अनुसार १९९० को दशकबाट प्रयोगमा आएको आईएलएस प्रणाली साना ट्विनअटरदेखि ठूला जेट विमानसम्म सबैको ककपिटमा जडान भएको हुन्छ । तर सन् २००४ पछि विकास भएको आरएनपी–एआर भूउपग्रहमा आधारित भएकाले यो धेरै जहाजमा हुँदैन । ‘वातावरण तथा भौगोलिक जटिलता भएको नेपाल जस्ता मुलुकका विमानस्थलका लागि आरएनपीएआर प्रणाली वरदान हो,’ उपनिर्देशक नायकले भने, ‘यो विशिष्ट छ । यसबारे पाइलटले अनिवार्य जहाजको ककपिट हुबहु भएको तर उडाउन मात्रै नमिल्ने तालिम उपकरण सिम्युलेटरमा तालिम लिएकै हुनुपर्छ । आरएनपीएआर प्रणाली भएको विमानस्थलमा यो तालिम लिएकै पाइलटले मात्रै जहाज अवतरण गराउनुपर्छ ।’

प्राधिकरणले एआईपीमा राखेको भैरहवा विमानस्थलको अवतरण प्रणाली आरएनपीएआर ४२ दिनपछि मात्रै किन लागू हुन्छ, लगत्तै किन लागू हुँदैन ? यस विषयमा नायक भन्छन्, ‘यस अवधिमा भैरहवामा उडान गर्दै आएका तर भिजिबिलिटी घटेकै कारण उडान गर्न नसकिरहेका वायुसेवा कम्पनीहरूले त्यो डेटा तानेर आधिकारिक तालिम केन्द्रमा प्रशिक्षक पाइलटबाट सिम्युलेटरमा भैरहवाकै धावनमार्गमा अवतरण गराउन प्रशिक्षण लिन्छन् । त्यसपछि उनीहरू आफ्नो देशको नागरिक उड्डयन कार्यालयमा त्यो तालिमलाई अनुमोदन गराउँछन् । त्यहाँको पत्र नेपालको नागरिक उड्डयन कार्यालयलाई बुझाउँछन् । त्यसपछि मात्रै यो नियम लागू हुने भएकाले ४२ दिनको समय राखिएको हो । यसै कारणले भैरहवामा माघ १० देखि मात्रै यो प्रणाली लागू हुने हो ।’

अहिले भैहरवामा आईएलएस प्रणाली सञ्चालनमा नआएकाले त्यहाँ सिमराबाट प्रवेश गर्ने जहाजले रेडियो तरंगमै आधारित भीओआर–डीएमई प्रणालीको सहायतामा न्यूनतम २२ सय मिटर भिजिबिलिटीमा अवतरण गर्दै आएका छन् । पश्चिमतर्फबाट अवतरण गर्ने जहाजले न्यूनतम १७ सय मिटर भिजिबिलिटीमा अवतरण गर्दै आएका छन् । पश्चिमतर्फ जहाजलाई अवतरणमा मार्गनिर्देश गर्न आरएनपीएआर–एपीसीएस प्रणाली छ । यी दुवै प्रणाली आरएनपीएआर जति सटीक भने होइनन् ।

यता रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच वटा विमान सेवा कम्पनीले तिहारलगत्तै थालेको अन्तर्राष्ट्रिय उडान खराब मौसमको कारण देखाउँदै अनियमित बनेपछि यहाँका सरोकारवाला फेरि निराश बनेका छन् ।

विमानस्थल सञ्चालनका लागि चरणबद्ध आन्दोलन गरिरहेकै बेला भैरहवाबाट पाँच वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेपछि उत्साह थपिएको थियो । फेरि उडान अनियमित बनेपछि उनीहरू निराश बनेका हुन् । खराब मौसमलाई कारण देखाउँदै विमान कम्पनीले उडान स्थगित गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान गरिरहेका विमान कम्पनीले नियमित उडान रोकेपछि विमानस्थल निरन्तर सञ्चालनको विषयमा आफूहरूले गरिरहेको शंका सही सावित भएको उद्योगी व्यवसायी बताउँछन् ।

गत नोभेम्बरमा नियमित सञ्चालन भएका विमान कम्पनीले गत डिसेम्बर १२ तारिखसम्म उडान अवतरण गरेका थिए । त्यसपछि ‘लो भिजिबिलिटी’ ले समस्या हुने जनाउँदै उडान रोकेको विमानस्थलले जनाएको छ । हरेक एयरलाइन्सले सीमित अवधिका लागि उडान तालिका तय गरेका थिए । भैरहवाबाट उडान अवधि सकिएपछि उनीहरूले सेवा स्थगित गरेका हुन् । सातामा दुई दिन उडान भर्ने गरेको थाई एयर एसियाले पछिल्लो समय १ दिन मात्र उडान गरिरहेको थियो । बिहीबार (डिसेम्बर २६ मा) एकपटक उडान गरेको थाईले अब जनवरी २ तारिखका लागि उडान गर्ने जनाएको छ । त्यसपछि कहिलेबाट नियमित उडान भर्ने हो भन्ने विषय टुंगो लागि नसकेको बज्राचार्यको भनाइ छ ।

जनवरी १ तारिखबाट थाइल्यान्डले अनलाइन भिसा सुरु गर्न लागेको छ । त्यसैले विमान आउने विषय भिसा व्यवस्थाले तय गर्ने उनले बताए । कतार एयरवेजले आफ्नो परीक्षण अवधि सकेकाले उसले नयाँ तालिका सार्वजनिक नगरेको बज्राचार्यले जनाए । कतारले १५ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म परीक्षण उडान गरेको थियो । जजिरा एयरवेजले फेब्रुअरी १ बाट पुनः उडान गर्ने तालिका बनाएको छ ।

विमानस्थलको सूचना लगत्तै जजिराले उडान रोकेको उसले खराब मौसम हुन्जेल उडान नभर्ने भएको छ । सबै उडान दिउँसोमै हुने गरेकाले मौसमको प्रभाव भन्दा पनि नवीकरण गर्नका लागि एयरलाइन्स कम्पनीले उडान रोकेको बज्राचार्यले जनाए । ‘हामीले उहाँहरूको डिमान्डबाहेकको समयमा उडाउनुस् भनेर भन्न पाइएन,’ उनले भने, ‘नवीकरण गरेपछि उहाँहरूले उडाउने निश्चित छ, शीतलहर भनेको २/३ दिन होला, त्यस अवधिबाहेक मौसमले समस्या हुँदैन ।’

फ्लाई दुबईले जनवरी १३ तारिखबाट पुनः नियमित उडान गर्ने तय छ । नेपाल एयरलाइन्सले उडान नियमित गरिरहे पनि काठमाडौंबाट यात्रु भरेर ल्याउने उसले भैरहवामा न ढोका खोल्छ, न प्यासेन्जर टिकट काटेर उड्न पाउँछन् ।

उडान नियमित हुने आशमा म्यानपावरसँगै धरौटीसमेत एयरलाइन्सलाई बुझाएर लगानी बढाएको पर्यटन व्यवसायी सञ्जय बजिमयले बताए । ‘हामी व्यवसायीले लगानी थपेर काम गर्न खोज्दा समेत प्राधिकरणले साथ दिँदैन,’ उनले भने, ‘ऋणको ब्याज तिर्न नसके हामी कसरी बाँच्ने ?’

आफुहरूले आग्रह गर्दागर्दै विमानस्थल नियमित नहुँदा आन्दोलन, नाकाबन्दी र जुलुसबाटै काम बन्ला भन्ने लागिरहेको उनले जनाए । अन्य उपाय नलागेपछि विकल्पका रुपमा सोही कदममा आफूहरू जाने उनको भनाइ छ ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully