काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् ।
मन्त्री दाहालले शनिबार द्रुतमार्गको सुरुविन्दु खोकनादेखि बुंगमती हुँदै फसिडोलसम्मको निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधान तर्फ लाग्ने बताए ।
‘यो फास्ट ट्र्याक तराई र काठमाडौँ जोड्ने लाइफलाइन हो,’ निरीक्षणका क्रममा मन्त्री दाहालले भने, ‘यसको प्रस्थानविन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनुहुँदैन, सबै निकायबाट समाधानको विकल्प खोजी गर्नुपर्छ ।’
सडक निर्माण एवं विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक तथा परम्परागत मान्यता र अस्थाहरूको संरक्षण गर्दै निकास निकाल्नु पर्नेमा जोड दिए ।
फास्ट ट्र्याकले सर्वसाधारणको आवतजावत सहज पार्ने मात्र नभई नेपालको वैदेशिक व्यापारलाई समेत प्रवर्द्धन गर्ने भन्दै उनले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रूपमा यसलाई लिइएको बताए ।
मुआब्जा वितरण, क्षतिपूर्ति, मोही तथा गुठी आदिका विषयहरूलाई निराकरण गरी यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उनको जोड थियो ।
मन्त्री दाहाललाई नेपाली सेनाका मेजर रमेश आचार्यले फास्ट ट्र्याक निर्माणको अवस्था, चुनौती र विकल्पबारेमा ब्रिफिङ गरेका थिए । ७०.९७७ किलोमिटर दूरी रहेको फास्ट ट्र्याकको खोकना खण्डमा अझै काम सुरु हुन सकेको छैन । उक्त खण्डको दूरी ६.५ किमी रहेको छ । अहिलेसम्म मुआब्जा विवादलगायतले गर्दा ठेक्का नै हुन सकेको छैन ।
