पुलमा आवागमन बन्द गर्ने निर्माण कम्पनीको चेतावनी
कञ्चनपुर — महाकालीमा निर्माणाधीन पुल तथा पहुँचमार्गको काम ‘भेरिएसन’ नहुँदा प्रभावित हुने भएको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तिन डिजाइन स्वीकृत भए पनि भेरिएसन नभएका कारण काम प्रभावित हुने भएको हो ।
निर्माण कम्पनीले भने काम सुरु गर्न नसक्ने जनाउँदै दबाबका लागि पुलमा आवागमन रोक्नेसमेत चेतावनी दिएको छ । ‘नयाँ डिजाइन गत वर्ष चैतमै स्वीकृत भएको हो,’ पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘नयाँ डिजाइन स्वीकृत हुनेबित्तिकै भेरिएसन हुने आशामा गाइडबन्डको काम गरियो, महाकालीको बाढीले गाइडबन्ड नै बगाएपछि अहिले क्षतिपूर्ति नपाउने अवस्था आएको छ ।’
गत भदौ अन्तिम साता महाकाली नदीको बाढीले भीमदत्त नगरपालिकातर्फ ३ सय मिटर गाइडबन्ड कटान गरेको हो । गाइडबन्ड कटान हुँदा ९ करोडको क्षति भएको इन्जिनियर पाण्डेयले बताए । भेरिएसन नहुँदा बिमा पनि नहुने र क्षतिपूर्ति पनि नपाइने भएकाले निर्माण कम्पनीले अब तत्काल काम सुरु गर्न नसकिने भन्दै महाकाली पुल आयोजनासँगै भीमदत्त नगरपालिकालाई पत्र पठाएको छ ।
महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको दुवैतर्फ ६ सय मिटर चौडा र २८ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ । सुरुमा पोखरीको गाइडबन्ड २ सय ५० किलोग्रामभन्दा बढी तौलका ढुंगा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो । ठूला ढुंगा नपाइएपछि डिजाइन परिवर्तन गरी ग्राभेल र कंक्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको हो । त्यसपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो ।
बर्खाअगावै भत्किएको गाइडबन्ड निर्माण हुन नसके पहुँच मार्गसँगै पक्की पुलसमेत जोखिममा पर्न सक्ने प्राविधिक बताउँछन् । भदौ अन्तिम साता महाकालीमा भीषण बाढी आएको थियो । त्यति बेला महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्यूसेक पुगेको थियो । ‘तत्काल काम सुरु गर्न नसके अर्को बाढीले योभन्दा ठूलो क्षति हुन सक्छ,’ पुल निर्माण कम्पनीका इन्जिनियर पाण्डेयले भने ।
महाकाली पुल आयोजनाका प्रमुख दिवस बस्नेतले परिवर्तित डिजाइनको भेरिएसनको काम अन्तिम चरणमा रहेको बताए । २५ प्रतिशतभन्दा बढी भेरिएसन मन्त्रिपरिषद्बाटै गर्नुपर्ने व्यवस्था छ । अहिले परिवर्तित डिजाइनको भेरिएसन ३० प्रतिशत हुने देखिएको छ । ‘फाइल मन्त्रालयमा पुगेको छ, अब केही दिनमै भेरिएसन हुन्छ,’ बस्नेतले भने । भेरिएसन नभएका कारण विगतमा बाढीले बगाएको गाइडबन्डको क्षतिपूर्ति दिन नसकिने उनको भनाइ छ ।
पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । उक्त क्षेत्रमा स्थानीयले महाकाली सिँचाइ आयोजनाको नहरमा निर्मित पुल छेउमै बाटो निर्माण गर्नुपर्ने माग गरेका छन् । तर ठूला सडकमा पुल छेउमै बाटो छाड्दा दुर्घटनाको जोखिम हुने भएकाले स्थानीयको माग पूरा गर्न नसकिने आयोजनाका प्राविधिक बताउँछन् ।
दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माणको काम गत वर्ष नै सकिएको छ । आठ किलोमिटर पहुँचमार्गमध्ये २ सय मिटर मात्रै निर्माण गर्न बाँकी छ ।
