नौलीखोला पुलको काम बल्ल ४० प्रतिशत

लार्के सडक खण्डअन्तर्गत सोती, आर्खेत र छेपारे खोलामा तीनवटा मोटरेबल पुल निर्माणाधीन

पुस १२, २०८१

हरिराम उप्रेती

The work of Naulikhola bridge is barely 40 percent

गोरखा — बेनीघाट–आरुघाट–लार्के सडक खण्डअन्तर्गत धार्चे गाउँपालिका–७ लापुबेंसीस्थित नौलीखोला मोटरेबल पुल निर्माणको काम बल्ल ४० प्रतिशत भएको छ । २०७९ साउनमा दुई वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।

तोकिएको समयमा पुल निर्माण नभएपछि ठेक्काको म्याद २०८२ साउनसम्म एक वर्ष थप भएको पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर मोहन श्रेष्ठले बताए । ‘बर्खाका बेला नौलीखोला बढेर काम गर्न नसकिने स्थिति बन्यो, हिउँदमा मात्र काम गर्नुपर्ने बाध्यता छ, फेरि गाडी हिँड्ने वैकल्पिक बाटो पनि छैन, यसो हुँदा पनि ढिलाइ भएको छ,’ उनले भने ।

आगामी असारसम्म पुल निर्माणलाई पूर्णता दिने गरी काम भइरहेको उनले जनाए । ४ करोड ३५ लाख रुपैयाँमा ठेक्कामा सूर्योदय कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ । उत्तरी गोरखा जोड्ने उक्त सडकमा ३५ मिटर लम्बाइको प्रिस्ट्रेस प्रविधिको पुल निर्माण भइरहेको उनले बताए ।

‘३५ मिटर लम्बाइ र ८.४० सेन्टिमिटर चौडाइको पुल बनिरहेको छ,’ उनले भने, ‘दुवैतर्फ पिलर उठाउने काम सकिएको छ, अब स्ल्याब राख्ने तयारीमा जुटेका छौं ।’ नौलीखोलाको पुल समयमै निर्माण नहुँदा उत्तरी गोरखाका धार्चे र चुमनुब्री पुग्ने स्थानीय समस्यामा छन् । बर्खामा नौलीखोला बढेर सवारीसाधन वारपार गर्न नसक्ने धार्चे–७ लापुबेंसीका मनबहादुर गुरुङले जनाए । ‘बर्खाभर गाडी पास हुन सकेनन्, माछाखोला, चुमनुब्रीदेखिका मान्छे हिँडेरै तलमाथि गरे,’ उनले भने, ‘यो पुल बनेपछि माथिल्लो क्षेत्रका मान्छेलाई आउनजान सहज पर्छ ।’

नौलीखोला पुलले पूर्णता पाए धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म आउजाउमा सहज बन्ने अपेक्षा गरिएको छ । लार्के सडक खण्डअन्तर्गत सोती, आर्खेत र छेपारे खोलामा तीनवटा मोटरेबल पुल निर्माण भइरहेका छन् । ‘ठाउँठाउँको अप्ठ्यारो बाटोमा ढलान पनि भएको छ,’ इन्जिनियर श्रेष्ठले भने, ‘अब नौलीखोलाको पुल बनेपछि माछाखोलासम्म बाह्रै महिना सवारी आउजाउ गर्न धेरै सहज हुन्छ ।’

लार्के सडकअन्तर्गत नै आर्खेत खोलामा ५ करोड ५६ लाखको लागतमा ४० मिटर लम्बाइको पुल गत वर्ष नै निर्माण सम्पन्न भइसकेको श्रेष्ठको भनाइ छ । लार्के सडकको ट्र्याक खुलेसँगै हिउँदमा चुमनुव्री गाउँपालिका–३ पाङसिङसम्म जिप, ट्र्याक्टर, ट्रकलगायतका सवारी चल्न थालेका छन् । उत्तरी क्षेत्रमा सवारी चल्न थालेसँगै पैदलयात्री तथा उपभोग्य सामग्री ढुवानीमा पनि सहज भएको छ । यसअघि माछाखोलाबाट खच्चडमार्फत ढुवानी हुँदै आएको थियो । गाडी चलेसँगै उपभोग्य सामग्रीको केही सस्तो भएको स्थानीय बताउँछन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully