काठमाडौँ — सरकारले एक वर्षअघि नै सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न मिल्ने सुविधा ल्याएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल सम्बन्धी गुनासो व्यवस्थापन’ प्लाटफर्मबाट प्रयोगकर्ताले आफ्ना गुनासो दर्ता गराउन सक्छन् । तर, यस प्लाटफर्ममा ‘सामाजिक सञ्जालका प्रकार’ भित्र फेसबुक, एक्स, इन्स्टाग्राम, लिंक्डइन र अन्य अप्सन मात्रै छन् ।
प्रयोगकर्ताले 'अन्य' छनोट गरेर टिकटकबारे गुनासो त दर्ता गर्न सक्छन् तर नेपालमा उल्लेख्य प्रयोगकर्ता भएको टिकटक आफैँ भने अप्सनभित्र किन समावेश नभएको होला ?
झन्डै एक वर्षको प्रतिबन्धपछि पुनः सञ्चालनमा आएको भिडियो सेयरिङ प्लाटफर्म टिकटकले पछिल्लो समय नेपालमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । केही साताअघि आफ्नो ‘सेफ्टी एम्बासडर कार्यक्रम’ घोषणा गर्ने बेला टिकटकका प्रतिनिधिले प्लाटफर्ममा केही हानिकारक कन्टेन्ट भेटिए तुरुन्तै रिपोर्ट गर्न अनुरोध गरेको थियो । यसका लागि नेपाल सरकारले पनि गुनासो दर्ता गर्ने माध्यम बनाएको र त्यसबाट प्राप्त गुनासोहरू आफूहरूले तुरुन्तै सम्बोधन गर्ने टिकटकले जनाएको थियो ।
उक्त कार्यक्रमका लागि नेपाल आएका टिकटको प्यारेन्ट कम्पनी, बाइटडान्सका ग्लोबल कम्युनिकेन्स प्रतिनिधि इमाद जफरले हानिकारक सामग्री रिपोर्ट गर्न प्रयोगकर्ता र टिकटक कन्टेन्ट क्रिएटरहरूलाई विशेष प्रोत्साहन गरेका थिए । ‘टिकटकमा आउन सक्ने हानिकारक सामग्रीबारे प्रयोगकर्ताले रिपोर्ट गर्न मिल्ने गरी नेपाल सरकारले आफ्नै च्यानल बनाएको छ, त्यहाँ प्राप्त रिपोर्ट सरकारले हामीलाई पठाउँछ र ती सामग्रीलाई व्यवस्थापन गर्ने विशेष टिम हामीसँग छ,’ उनले भनेका थिए, ‘हाम्रो एपमा भएको रिपोर्ट फिचर वा नेपाल सरकारको गुनासो दर्तासम्बन्धी च्यानलको सदुपयोग गर्न म सबैलाई अनुरोध गर्छु ।’
तर सरकारले एक वर्षअघि नै सुरु गरेको ‘सामाजिक सञ्जालसम्बन्धी गुनासो व्यवस्थापन’ प्लाटफर्मभित्र ‘सामाजिक सञ्जालका प्रकार’ छान्ने बेलामा टिकटक अप्सन भेटिँदैन । सञ्चार मन्त्रालयको वेबसाइटको मेनुमा हिडन आइकनभित्र रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ अप्सनमा क्लिक गरेपछि खुल्ने नयाँ पेजभित्र ‘सामाजिक सञ्जालको प्रकार’ छान्नुपर्छ । त्यसमा टिकटक अप्सन समावेश छैन । फेसबुक, एक्स, इन्स्टाग्राम, लिंक्डइन र अन्य अप्सन उल्लेख छन् । प्रयोगकर्ताले ‘अन्य’ मा क्लिक गरेर गुनासो भने दर्ता गर्न सक्छन् । सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा इन्स्टाग्राम र लिंक्डइनको हिज्जे पनि एक वर्षदेखि गलत नै छाडिएको छ ।
मन्त्रालयले गत वर्ष माघदेखि अनलाइनबाट गुनासो दर्ता गर्न मिल्ने प्रणाली सुरु गर्दा नेपालमा टिकटक प्रतिबन्धित थियो । यसकारण त्यो बेला ‘गुनासो दर्ता’ प्लाटफर्ममा टिकटकलाई समावेश गरिएको थिएन । अहिले टिकटकमाथिको प्रतिबन्ध हटाएको तीन महिना भइसक्दा पनि यस विषयमा मन्त्रालय र जिम्मेवार इकाइको ध्यान पुगेको छैन ।
यस विषयमा कान्तिपुरले जिज्ञासा राखेपछि भने मन्त्रालयले अब आफ्नो वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ अप्सनभित्र ‘सामाजिक सञ्जालका प्रकार’ मा टिकटकलाई समावेश गर्ने प्रतिबद्धता जनाएको छ । ‘यो छुटिरहेको विषय थियो, हामी अब समावेश गर्छौं,’ सामाजिक सञ्जाल व्यवस्थापन इकाइकी संयोजक बाँस्तोलाले भनिन्, ‘यसमा सुधार हुन्छ ।’
