पोखराबाट पहिलोपटक यात्रुसहितको जेट विमान काठमाडौं आयो

पुस ११, २०८१

सुरज कुँवर, दीपक परियार

For the first time, a jet plane with passengers came to Kathmandu from Pokhara

काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुई वर्षपछि बिहीबार पहिलोपटक जेट विमानले पूर्ण क्षमतामा यात्रु राखेर उडान गरेको छ ।

चीनको छेन्दुबाट १ सय २९ यात्रु ल्याएर पोखरामा उत्रिएको सिचुवान एयरलायन्सको एयरबस ए–३१९ विमान १ सय २६ जना यात्रु राखेर त्यहाबाट काठमाडौं अवतरण भएको थियो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा प्राविधिक त्रुटि रहेको भ्रम फैलाइयो,’ पोखराबाट त्यही उडानमा आएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काठमाडौं विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरुलाई भने,‘आज सिचुवान एयरले गरेको उडानले भ्रम फैलाउनेको व्यापार बन्द गराएको छ । अब पोखरामा उडानलाई नियमित गराउने व्यापार गर्नुहोस् । प्राधिकरणले सघाउनुपर्ने ठाउमा सघाउने छ ।’

छेन्दुबाट आएको जहाज काठमाडौंको आकाशमाथिबाट पोखरा जोड्ने व्हिस्की–४१ हवाई रुट हुँदै पोखरा अवतरण भएको थियो । त्यहाँबाट त्यो विमान उपकरणको सहायताले गरिने आईएफआर उडान नियम पछ्याउँदै सिमरा हुँदै काठमाडौं अवतरण भएको थियो ।  

उक्त उडानमा रहेका प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन तत्कालीन अवस्थामा नेपाल वायुसेवा निगमसँग भएका बोइङ्ग–७५७ को क्षमताका आधारमा बनाइएको बताए । एकल ग्यालरी भएको अमेरिकी बोइङ ७५७ जहाज घरेलु छोटो तथा अन्तरदेशीय मध्यम दूरी (७ हजार किलोमिटरसम्म) को उडानका लागि प्रभावकारी जहाज मानिन्छ । यस्तै क्षमता हाराहारीकै सिचुवानले बिहीबार पोखराबाट उडाएको एयरबसको ए–३१९ विमान पनि हो ।

सिचुवानको काठमाडौंमा अवतरणपछि नियमित उडान तालिकाअनुसार, यात्रु राखेर चीनको छेन्दु उडेको थियो । उपहानिर्देशक कर्णले २५ सय मिटर लामो धावनमार्ग भएको पोखराबाट यो जहाज उड्दा धावनमार्गको मध्यभागबाटै टेकअफ गरेको बताए ।

‘पोखरा विमानस्थलबाबारे पहिले धेरै शंका, उपशंका, मनगढन्ते कुरा सुनिन्थे । कसैले डाँडाका कारण ठूला जहाजले यात्रु राखेर कारण उडान गर्न सक्दैन भने,’ यसअघि पोखरा विमानस्थलको महाप्रबन्धक भइसकेका कर्णले भने, ‘आज भ्रम निवारण भयो । एयरबसको जहाजले गरेको प्रवद्धर्नात्मक उडानले पोखरा विमानस्थल टेक्निकली ठीक भएको प्रमाणित भएको छ ।’

सिचुवानको यो तेस्रो चार्टर उडान हो । पोखरामा आइतबारदेखि हुने अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ चिनिया लगायतका विदेशी यात्रु राखेर यो पोखरा उत्रिएको थियो । त्यहाँबाट काठमाडौंका लागि उडेको यो विमान २७ औं मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । 

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully