एक महिनामा ३३ हजारले चढे धरहरा

पुस १०, २०८१

कान्तिपुर संवाददाता

33,000 climbed the tower in one month

काठमाडौँ — शुल्क तोकेको एक महिनामा ३३ हजारभन्दा बढीले धरहरा चढेका छन् । दैनिक औसतमा १२ सय हाराहारीले धरहरा चढ्ने गरेका छन् । सार्वजनिक बिदाको दिन करिब २ हजारभन्दा बढीले धरहरा चढ्ने गरेका छन् । सशुल्क गरिएपछि अहिलेसम्म ६० लाख राजस्व उठिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए ।

बुधबार भने धरहरा बन्द हुने गरेको छ । ‘सशुल्क गरिएपछि पनि धरहरा चढ्ने बढिरहेका छन्,’ उनले भने, ‘धरहरा परिसरमै पुगेर टिकट लिने व्यवस्था गरिएको छ ।’ सुरुमा निःशुल्क खुला गरिएकोमा गत मंसिर ९ गतेबाट शुल्क तोकिएको हो ।

१० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

तीन तला पार्किङको व्यवस्था गरिए पनि सञ्चालनमा आइनसकेकाले अहिले शुल्क उठाइएको छैन । बिहान १०देखि दिउँसो ४ बजेसम्म मात्र धरहरा चढ्न पाइने छ । ०७८ वैशाख ११ मै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‍घाटन गरेको धरहरा निर्माणको काम अझै सकिएको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्काएपछि नयाँ निर्माण गरेर उद्घाटन गरिएको थियो । भूकम्प गएको ९ वर्षमा धरहरा ठडियो । तर निर्माण थालेको ६ वर्षमा काम भने पूरा भएको छैन । 

०७८ वैशाख ११ मै ओलीले उद्‍घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत थियो । अहिले ८८ प्रतिशत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले जनाएको छ । धरहराको टावर र गार्डेन निर्माणको काम सकिसकेको भएर संविधान दिवसको अवसर धरहरा गत असोज ३ मा निःशुल्क खुला गरिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully